८ बैशाख २०८१, शनिबार
Follow Us

सेयर बजार कारोवारमा १ अर्बको गिरावट

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७३, बिहीबार १५:०४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामा नेपाल राष्ट्र बैंकले सुक्ष्म निगरानी गर्ने बताएसँगै सेयर बजार धुर्रमुराएको छ । मंगलबारसम्म उच्च अंकले बढेको बजारमा त्यसयता ओरालो लागेको छ । बजार ओरालो लाग्नुका साथै विहीबार कारोवार रकममा समेत उच्च गिरावट आएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेयरबजारमा कर्जा प्रवाह गर्न थालेको सुचना आएपछि सो विषयमा सुक्ष्म रुपमा अध्ययन शुरु गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकले बजारमा देखिएको क्रेडिट क्रञ्चलाई समाधान गर्न विपन्न वर्ग कर्जा र उत्पादनमुलक क्षेत्रमा प्रवाह गरिएको कर्जाको ५० प्रतिशत रकम सीसीडी रेसियोमा गणना नहुने गरी सोही क्षेत्रमा लगानी गर्न बाटो खुला गरिदिएको थियो । तर, बैंक तथा वित्तीय संस्थाले तत्काल नाफा कमाउन त्यस्तो रकम पनि सेयर बजार लगायत अनुत्पादक क्षेत्रमा लगानी गरेको सुचना आएपछि अनुगमन थालिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

पछिल्लो समय सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेकै कारण कारोवार रकम बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । घट्दो बजारमा लगानी गर्न बन्द गरेका बैंकले बढ्दो बजारमा आफु नजिकका व्यक्ति मार्फत कर्जा प्रवाह गरिरहेको एक लगानीकर्ताले बताए । ‘अहिले बैंक वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न ओडी लोन र बिजनेश लोनमार्फत मिलाएर कर्जा प्रवाह गर्दै आएका छन् ।’ साथै बैंक भनेको सुखको साथी भएको र बढ्दो बजारमा जतिपनि लगानी गरिरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा.आत्मराम घिमिरेको दावी छ ।

पछिल्लो समय बैंकले प्रवाह गरेको कर्जाको सम्बन्धमा अबका दिनमा अनुमगन गरिने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाबोटी बताउँछन् । ‘सो विषयमा अहिले पनि सम्बन्धित फाँटले अनुगमन गरिरहेको छ,’ उनले भने, ‘यसलाई अझ सुक्ष्म रुपमा अघि बढाउने छौं ।’

विहीबार २ अर्ब ५६ करोड रुपैयाँको कारोवार भएको बजारमा आज घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको छ । यसैगरी नेप्से परिसुचक पनि सामान्य रुपमा ओरालो लाग्न पुगेको छ । दिभनर उचारचढाव आएको सामान्य रुपमा घट्दै १ हजार ५ सय ८७ अंकमा झरेर अडिएको छ । दिभनर कुल १ सय ४० कम्पनीको २७ लाख २३ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।