१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अस्ट्रेलियामा मुसलधारे वर्षा र बाढीका कारण उद्धारमा कठिनाई

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार ०७:०१

अस्ट्रेलिया । तूफानद्वारा भद्रगोल बनेको उत्तरपूर्वी अस्ट्रेलियामा उद्धारका लागि खटिएका सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीका समूहलाई उद्धार कार्यमा खट्न लगातारको वर्षा र बाढीका कारण कठिनाई भएको यहाँको प्रहरीले बताएको छ । गत मङ्गलबार डेवी नामको तूफान आउँदा क्वीन्सल्यान्ड राज्यको वोवेन र एअरलीबीच बीचको क्षेत्रमा रुखहरु लडेका, डुङ्गाहरु बगेका र व्यापक क्षति पुगेको थियो । सिड्नीबाट पूर्वमा अवस्थित सामुद्रिक तटमा आँधीपछि लगातार वर्षा भएको र यसका कारण कटिपय नदीकिनारमा रहेका बस्तीहरु समेत जलमग्न भएका छन् ।
आँधीपछि परेको वर्षाले क्वीन्सल्यान्डको राजधानी ब्रिसवनमा औसत एक महिनामा पर्ने वर्षाभन्दा बढी रहेको पाइएको अस्ट्रेलियाली मौसमविद्ले जनाएका छन् । आँधी र मुसलधारे वर्षाका कारण क्वीन्सल्यान्डका मनोरञ्जन पार्क र तटक्षेत्रलाई बन्द गरिएको छ ।
क्वीन्सल्यान्ड धेरै ठूलो राज्य भएको र विशाल मौसमी अवस्थाका कारण राज्यका धेरै क्षेत्रमा अस्तव्यस्त बनेको क्वीन्सल्यान्डका प्रधानमन्त्री अनास्टासिया पालास्नुकले बताउनुभयो । क्वीन्सल्यान्डका अधिकारीले तटीय क्षेत्र वरपर समुद्रबाट आएका सार्क (खतरनाक शिकारी माछा) लाई धपाइएको बताउँदै विस्तारै पानीमा झरी सुरक्षित स्थलतिर लाग्न अनुरोध गरेका छन् ।
आँधी र वर्षाका कारण कसैको मृत्यु भएका खबर भने समाचार तयार पार्दासम्म आएको छैन । आँधी र मुसलधारे वर्षापछि आएको बाढीका कारण हजारौँ मानिस बस्ती छाडेर उच्च क्षेत्रमा शरण लिन पुगेका छन् । अस्ट्रेलियाको सेनाले आँधीले खडा गरेका अवरोध हटाउन ठूलो सङ्ख्यामा सैनिकलाई परिचालित गरेको छ ।