१३ बैशाख २०८१, बिहीबार
Follow Us

फोरम लोकतान्त्रिकले सरकारलाई दिएको समर्थन फिर्ता लिने

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार ०७:१०

काठमाडौं । विजय गच्छदारले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सरकारसँग भएको तीन बुँदे सहमति एक साताभित्र पूरा नभए स्वतः समर्थन फिर्ता हुने पार्टीका उपाध्यक्ष रामजनम चौधरीले जानकारी दिए । फोरम लोकतान्त्रिकले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउन असन्तुष्ट पक्षलाई निर्वाचनमा सामेल गराउनुपर्ने माग गरेको छ ।
पार्टीको यहाँ सम्पन्न दुईदिने कार्यसम्पादन समिति बैठकले निर्वाचनलाई प्रभावकारी बनाउन संविधान संशोधन गरेर असन्तुष्ट पक्षलाई पनि सामेल गराउनुपर्ने ठहर गरेको हो । बैठकले संविधान संशोधन प्रस्तावलाई तत्काल अघि बढाई सबै दल निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको फोरम(लोकतान्त्रिक)का उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
बैठकले एक साताभित्र संशोधन अघि बढाउनुपर्ने, थरुहट मधेसको माग सम्बोधन गर्नुपर्ने, टीकापुर घटनालगायत मुद्दामा पक्राउ परेकालाई रिहाइ गरिनुपर्ने र सात दिनभित्र माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पनि उपाध्यक्ष चौधरीले बताउनुभयो ।