१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दलहरु मध्यमार्गी विकल्प खोज्दै

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार १२:५३

काठमाडौं । अविश्वास प्रस्तावलाई कार्यसूचिको पहिलो प्राथमिकतामा राख्ने कि आर्थिक विधेयकको आश्रित विधेयकबारे पहिले छलफल चलाउने भन्ने विषयमा दलहरुबीच सहमति हुन सकेन । संसद आज बिहान ९ बजेका लागि बोलाइएको थियो । सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति गराउन संसद बैठक २ बजेसम्मका लागि स्थागित गर्नुभएको थियो । तीन दलबीच विहीबार दोश्रो बैठकमा पनि सहमति नहुँदा भोलि शुक्रबार दिउँसो २ बजेसम्मका लागि संसद स्थगित गरिएको छ ।
भोलि दिउँसो २ बजेसम्ममा नेपाली राजनीतिमा नाटकीय घटना हुनसक्ने धेरैले अनुमान गरेका छन् । तीनवटै दल नेपाली कांगे्रस माओवादी केन्द्र र सत्तारुढ गठबन्धन दलहरुले फेस सेभिङ खोजिरहेका छन् । तीनवटै दलहरुलाई मान्य हुने सहमति के हुन सक्छ भन्ने विषयमा यतिबेला तीन दलका शीर्ष नेतृत्व सहमतिको खोज्नमा जुटेका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको तीन दलको बैठकमा राख्नुभएको प्रस्तावमा छलफल भयो । वरिष्ठ नेता पौडेलले बजेटसँग सम्बन्धित विधेयकहरु पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने, नयाँ प्रधानमन्त्रीको निर्वाचनमा जाने र जो जो मिल्न सक्ने दलहरु मिलेर नयाँ सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।
नेता पौडेलको यो प्रस्तावमा दलहरु लगभग सहमति नजिके पुगेको बताइन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामाबाहेक अरु सबै प्रस्ताव मान्न तयार रहेको बताएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पनि नेता पौडेलको प्रस्तावप्रति सकरात्मक रहेको बताइन्छ । छलफलपछि शीर्ष नेताहरुले पौडेलको प्रस्तावमा विचार गर्न सकिन्छ भन्दै बाहिरिएका थिए ।
यता, चितवन मेडिकल कलेजका प्राध्यापक डा. ईश्वरचन्द्र घिमिरेले संसदमा दर्ता भएको अविश्वास प्रस्ताव मत्युयोगमा दर्ता भएको बताएका छन् । ज्योतिष विद्यामा समेत दख्खल राख्ने प्रा.डा. घिमिरेले उक्त अविश्वासको प्रस्ताव तुहिनी दाबी गरेका छन् । हरौं भोलि दिउँसो २ बजेसम्ममा प्रा.डा. घिमिरेको ज्योतिष भविष्यवाणीले पुग्ने नपुग्ने थाहा हुनेछ ।
तस्बिर: अनलाइन खबरबाट साभार