११ बैशाख २०८१, मंगलवार
Follow Us

वरिष्ठ तिब्बती लामाले विवाह गरेर अनुयायीलाई चकित बनाए

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७३, शुक्रबार १४:३७

काठमाडौं । बौद्ध धर्मको एक संप्रदायका वरिष्ठ तिब्बती लामाले आफूले विवाह गरेको घोषणा गर्दै धेरै अनुयायीहरुलाई चकित बनाएका छन । बाल्यकालदेखि नै कर्मापा लामाका अवतार भनिएका थाये दोर्जेले आफ्नो बाल्यकालदेखिकी मित्रसँग विवाह गरेको उनको वेबसाइटमा जनाइएको छ ।
भारतमा प्रवासी जीवन बिताइरहेका थाये दोर्जेले विवाह गरेपनि आफ्नो आध्यात्मिक भूमिका अन्तर्गतका कर्महरु गरी राख्ने बताएका छन् । कर्मापा तिब्बती बौद्ध धर्मको काग्युपा संप्रदायका प्रमुख लामा हुन् ।
थाये दोर्जे आफूलाई कर्मापा लामाको अवतार मान्ने दुई तिब्बती बौद्ध भिक्षु मध्येका एक हुन् । कर्मापा डट ओआरजी वेबसाइट (http://www.karmapa.org/special-news) मार्फत दिइएको जानकारी अनुसार थाये दोर्जेले गत जनवरी १७ तारिखमा तिब्बती परंपरा अनुसार रिन्चेन याङ्जोमलाई विवाहको प्रस्ताव राखेका थिए ।
त्यसपछि तिब्बती परंपरा अनुसार उनीहरुको गत मार्च २५ तारिखमा नजिकका परिवारजनको उपस्थितिमा विवाह भएको उल्लेख गरिएको छ । यसबारे दोर्जेले आफ्नो फेसवुक पेज मा पनि यो विषय उल्लेख गरेका छन् ।
विवाह थाये दोर्जेको दिल्लीस्थित पारिवारिक निवासमा भएको बताइएको छ । रिन्चेन योङजोमको जन्म भुटानको पारोमा भएको र शिक्षादीक्षा भारतको दिल्ली र युरोपमा भएको बताइएको छ । थाये दोर्जे र रिन्चेन याङजोम भारतको बोधगयामा आउने डिसेम्बर महिनामा हुने काग्यु मोन्लाम पुजाको बेला पहिलो पटक सार्वजनिक हुने कार्यक्रम रहेको पनि जनाइएको छ ।