गोविन्द बेल्वासे ।
सञ्चार जगतलार्इ सरकारको चौथो अंगका रूपमा स्थापित गर्नमा नेड्दह्यामदेखि कार्ल बेर्नस्टिन र बव उड्वार्डसम्मको ठूलो योगदान छ । सञ्चार जगतलार्इ जनहित(Public Interest)को पक्षमा डोर्याउने र यसको आवस्यकता एवं गरिमा कायम गर्न लामो समय लाग्यो । राजनीति र सञ्चार जगत दुबै जनहित प्रयास एवं प्रजातन्त्र विकासका सहयात्री हुन।

“मार्क्युरियस पोलिटिक्स’ का सम्पादक मार्चमोन्ट नेड्दह्यामले सेप्टेम्बर १६५१ देखि अगस्ट १६५२ सम्म आफ्नो पत्रिकामा लगातार ‘प्रजातन्त्र’ सम्बन्धी सम्पादकीय छापेका थिए ।

उक्त सम्पादकीयको शृङ्खलालाई आधुनिक संसदीय प्रजातन्त्रको आधार पनि मानिन्छ । उनी प्रजातन्त्रका लागि लड्दा पटक-पटक कैद हुने र छुट्ने गरे । उनी राजा चार्ल्सको विरोध गरेबापत जेल गए । राजा चार्ल्सको टाउको काटिनुभन्दा दुइ वर्षपहिला उनले एक्कासी आफ्नो धार परिवर्तन गरेर राजाको पक्ष लिँदै क्रमवेलको घनघोर विरोध गरे । फेरि उनले संसदवादी धार समातेर राजतन्त्रमाथि प्रहार गर्न थाले । समग्रमा हेर्दा उनी सधै जनहितको पक्षमा इमान्दार बनेर योगदान गरे । वाटरगेट काण्डमा वासिङ्टन पोष्टले निभाएको भूमिकाले पनि लोकतन्त्र बलियो पार्नमा पत्रकारिताको योगदानलार्इ निरन्तरता दियो ।

राजनीतिको आरोह अवरोहको क्रममा पत्रकारितालार्इ जनहितको पक्षमा डोर्याएर कार्ल बेर्नस्टिन र बव उड्वर्ड वाटरगेट काण्डको पर्दाफास नगरेको भए प्रजातन्त्र सजिलै मौलाउने थिएन । यो पत्रकारिताको क्रमलार्इ धेरैले जनहितमा डोर्याउन योगदान गरेकै कारण सञ्चार जगतलार्इ जनहितको खम्बाका रूपमा समाजले स्वीकार गरेको हो ।

जनहितको पर्यावाचीका रूपमा मानिने सञ्चारजगतलार्इ अहिले ‘फेक न्यूज’को छिटा छ्याप्न थालिएको छ । यो आरोप धरातल विहिन होइन भन्ने जनविश्वास छ । सञ्चारलार्इ जनहितमा लाग्न नसकेको आरोप यस अघि यस हदसम्म लागेको पनि थिएन । यस तहको यो पहिलो प्रहार हो र यसलार्इ अन्तिम बनाउन आवस्यक छ ।
एकातर्फ प्रविधि विकासले आम नागरिकमा सूचनाको पहुँच सहज बनाएको छ भने गलत तत्वले पनि प्रविधि उपयोग गर्ने सुविधा पाएका छन् ।

पत्रकारिताको विकास क्रममा सञ्चारजगत जनहित भावनाले अभिप्रेरित थियो भने अहिले कर्पोरेट भावनाले प्रभावित भएको छ । कर्पोरेट प्रभावबाट सञ्चारजगतलार्इ जोगाउन सरकारी नियन्त्रणको वकालत गर्ने परिस्थितिबाट जत्ति खतरा छ त्यो भन्दा बढी कर्पोरेट पकडबाट सञ्चारलार्इ स्वतन्त्र राख्न सञ्चारकर्मीहरू सजग हुनु पर्ने अवस्था देखापरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको मिडियाप्रतिको आक्रामक सैली यसको ज्वलन्त उदाहरण हो ।

नेपालको इतिहास खोतल्ने हो भने सञ्चारलार्इ जनहितमा डोर्याउनकालागि हरिहर विरही तथा पदम ठकूराठीको पत्रकारिता र सितल कुमारका स्तम्भको ठूलै योगदान रह्यो । उक्त योगदानले गणतन्त्र र लोकतन्त्रसम्म पुर्याएको छ । सञ्चार जगतलार्इ स्वच्छ पार्न आचारसंहिता र गोपनीयता तथा गालीवेइजती नियन्त्रण कानून नै पर्याप्त मानियो । तर, साइबर प्रविधिले नागरिक सञ्चारलार्इ अगाडि बढाउँदै गर्दा परम्परागत नियन्त्रणका ढाँचा पर्याप्त नभएको उदाहरण अमेरिकाको चिर्वाचनमा साइबर घोटालाको चर्चाले नै पुष्टि गरेको छ ।

सञ्चार जगत तथा मिडियाले जति आरोह अवरोह भोगेपनि जनहितको उद्देश्यको परिधिबाट बाहिर जान सकेके थिएन । राजनीति उद्देश्यमा चलेको होस वा नीजी लगानीमा रहेको सवै सञ्चार जनहितको उद्देश्यभित्र रूमल्लिएकै कारण पत्रकारिता फलिफाप सिध्द भएको हो ।

भूमण्डलीकरण विस्तार हुँदै गर्दा मडियामा कर्पोरेट जगतले आवस्यकता महसुस गरेपछि लगानी बढेका कारण सञ्चारजगतलार्इ सुविधायूक्त रूपमा अगाडि बढ्न सहयोग गरेको छ । केही दशक अगाडिसम्म सादा झोला र कलमको प्रतिकले चिनिने सञ्चारकर्मीहरू आधुनिक क्यामरा, रेकर्डर इत्यादी प्रविधिबाट सुसज्जित रवाफवाल पत्रकारको दृष्यमा देखिन्छन् । एक कोँडबाट हेर्दा यसलार्इ सन्तोस गर्ने कारण पनि मान्न सकिन्छ । अर्को तर्फ सरकारी नियन्त्रणका मिडिया र जनताको छुट्टै करबाट चल्ने बेलायतको बिबिसी बाहेक अरू मिडिया स्वतन्त्र मिडियाको परिधि नाघिसकेको महसुश हुन्छ । कर्पोरेट जगतले आफ्नो उद्देश्य निहित सूचना सञ्चार गर्न मिडिया जगतलार्इ डोर्याउन लगानी गरेको प्रतित हुन्छ ।

कर्पोरेट जगतले सञ्चारको स्वतन्त्र छवि र जनहित भावनालार्इ लगानीको माध्यमले आफ्नो कोलाटामा पारिसकेको छ । सञ्चार जगतमा कर्पोरेट जगतको यती लगानी भैसकेको छ कि जनहित भावनाले स्वतन्त्र सूचना प्रवाह गर्नु भन्दा पनि मिडिया कर्पोरेट भावनाबाट प्रभावित हुन बाध्य हुने गरेको छ । आफूलार्इ स्वतन्त्र ठान्ने सञ्चारकर्मचारीहरूलार्इ पनि यस्तो टार्गेट तोकेर काममा खटाइएको हुन्छ कि उसले जागिर जोगाउन पनि कर्पोरेट स्वार्थमा आफ्नो इमानलार्इ बन्धकी राख्न बाध्य पारिन्छ । कर्पोरेट सहयोगको विज्ञापन र लगानीको भरमा स्वतन्त्र ठान्छु भन्दभन्दै जनहित विर्सनुपर्ने बाध्यताले सञ्चारजगतको अवरोहले गर्दा समाजमा नकारात्मक असर दिखन थालेको छ ।

कर्पोरेट संजालमा फसिसकेको सञ्चारजगतलार्इ यस दलदलबाट निकाल्ने समाधान तत्काल नभेटिएपनि यसको समाधान खोज्ने जिम्मेवारी सञ्चारकर्मीहरूले नै निभाउन पर्ने जिम्मेवारी बोध गर्नु पत्रकारहरूको कर्तब्य ठहरिन गएको छ ।