१६ चैत्र २०८०, शुक्रबार
Follow Us

उपचारका लागि पुगेका युवतीमाथि डाक्टरको यौन दुर्व्यवहार

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७३, शनिबार ०६:१०

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित स्पेस मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षणका लागि पुगेका युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर प्रशान्त भट्ट पक्राउ परेका छन । मेडिकल परीक्षणका क्रममा डाक्टर भट्टले यौन दुर्व्यवहार गरेको भन्दै १९ जना युवतीको उजूरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेपछि अहिले डा. भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेशफिल्ड इन्टरनेशनल कलेज लगनखेल, ललितपुरमा अध्ययनरत १९ जना युवती चीनमा होटल म्यानेजमेन्ट अध्ययनका लागि जानुपूर्व मेडिकल जाँचका लागि सिनामंगलस्थित स्पेस मेडिकल सेन्टर पुगेका थिए । मेडिकल जाँचका क्रममा डाक्टर भट्टले आफूहरुको संवेदनशील अंग छोएको आरोप विद्यार्थीहरुले लगाएका छन् । युवतीहरुले आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धानका लागि २८ वर्षीय डाक्टर भट्टलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले डाक्टर भट्टलाई गएको सोमबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको छ । प्रहरी नियन्त्रणमा रहेका डाक्टर भट्टले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन् । तर युवतीहरु र आफन्तले भने डाक्टर भट्टले गल्ती गरेकाले हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौं परिसर प्रमुख छविलाल जोशीले उक्त विषयमा अनुसन्धान भैरहेको जानकारी दिए । प्रहरीले अनुसन्धानका लागि मेडिकलका सञ्चालक मध्येका एक रेशम खत्रीलाई समेत नियन्त्रणमा लिएको जानकारी दिएको छ । घटनाको सुक्षम अनुसन्धान गरी दोषीलाई हदै सम्मको कारवाही गर्नु पर्ने आफन्तको माग रहेको छ ।