१२ बैशाख २०८१, बुधबार
Follow Us

म्यादी प्रहरी छनोटकाक्रममा तीनजनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१९ चैत्र २०७३, शनिबार १४:१७

काठमाडौं । म्यादी प्रहरीमा छनोटकाक्रममा शनिबार तीनजनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो । बाँकेमा छनोटकाक्रममा २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको छ । दौड सकेर सेटअप गर्नेक्रममा उनी बेहोस भएर लडेको र तत्काल उपचारका लागि अस्पताल पुर्‍याउँदा मृत्यु भएको जनाइएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङमा दौडनेक्रममा विराटनगर–१६ का २७ वर्षीय तुलसी राजवंशीको मृत्यु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक रमेश भट्टराईले म्यादी प्रहरीमा भर्ना हुन आएका राजवंशी दौडनेक्रममा घाइते भएको र उपचारका लागि कोसी अञ्चल अस्पतालमा पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको बताए ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय खोटाङमा पनि दौडनेक्रममा सप्तेश्वर–६ का २४ वर्षीय किशोर निरौलाको मृत्यु भएको छ । दौडँदा एक्कासि बेहोस भएका उनको उपचारका लागि लैजानेक्रममा मृत्यु भएको जनाइएको छ । म्यादी प्रहरीका निवेदकलाई छनोटका लागि शनिबार पहिलो दिन एक किलो मिटर दौडाइएको थियो ।