१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चट्याङ लागेर ३ को मृत्यु

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार ०७:०८

काठमाडौं । शनिबार राति पानीसँगै परेको चट्याङ लागेर सिन्धुपाल्चोक, कास्की र मकवानपुरमा एक एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा मृत्यु हुनेमा जुगल गाउँपालिका–७ निवासी ४६ वर्षीया सानुकान्छी तामाङ रहेकी र उनी आफ्नै घरमा खाना पकाउँदै गर्दा चट्याङ परी घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा मृतककी बुहारी २० वर्षीया सुकुरानी तामाङ घाइते भएकी छिन् उनको अहिले जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय जलवीरेले जानकारी दिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षको जीतबहादुर स्यान्ताङ लामालाई शनिबार राति ११ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त चट्याङको प्रभावले मृतकको तीन जना परिवार सामान्य घाइते भएको र उनीहरु हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ ।