१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिक परामर्शमा व्यस्त

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार ०७:३०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज पनि राजनीतिक परामर्शलाई तीव्रता दिएका छन । स्थानीय निर्वाचनमा मधेसी मोर्चालाई मोर्चालाई सहमतिमा ल्याउने जिम्मा पाएका दाहालले आज मोर्चाका शीर्ष नेतालाई भेट्नु अघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसंग भेट्दै छन् ।
प्रधानमन्त्री दाहालले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष शर्मा ओलीसँग छलफल गरी मोर्चासंग सहमतिका लागि बटमलाईन तय गर्न लाग्नु भएको हो ।
उनले मोर्चाका शीर्ष नेताहरुलाई जसरी पनि सहमति गराउने दावी गरेका छन । देउवा र ओलीसंगको छलफल पछि आजै प्रधानमन्त्री दाहालले मोर्चाका शीर्ष नेताहरुसंग छलफल गर्नेछन । उनले मोर्चाका नेताहरुसँग सिमांकनको विषय संघीय आयोगबाट केन्द्रको चुनावअघि नै टुंग्याउनेगरी बाँकी विषयमा संविधान संशोधन गर्नेबारे मोर्चालाई जानकारी गराउने छन् । प्रधानमन्त्री दाहालले मोर्चालाई मनाएर स्थानीय निर्वाचनमा मोर्चाले भाग लिने विषयमा छलफल गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

साउथ इन्डियन खाजा खुवाएर मात्र पठाए : अध्यक्ष झा
मधेशी मोर्चासँग शुक्रबार साँझ बालुवाटारमा कुनै सहमति नभएको नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले बताए । वार्ता बाँडिने अवस्था आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरेर आइतबार सबैसँग बेग्लाबेग्लै बस्ने बन्दै छलफल टुंग्याएको झाले बताए । उक्त दिन आफूहरुलाई साउथ इन्डियन खाना खुवाएको, दुई पटक ग्रीन टि र एक बोतल पानी पिएर फर्केको जानकारी अध्यक्ष झाले दिए ।
अनौपचारिक कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल हुँदा असहज स्थिति आएपछि प्रधानमन्त्रीले वार्ता टुग्याएका थिए । सञ्चारमाध्यममा आएजस्तो कुनै सहमति नभएको र आज आइतबार के विषयमा सहमति हुन्छ आफूलाई थाहा नभएको उनले बताए ।