१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कार्यकारी निर्देशककै संलग्नतामा २७ करोड २४ लाख भ्रष्टाचार !

नेपालब्रिटेन डट कम्
२० चैत्र २०७३, आईतवार १४:०५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिंहगाड जलविद्युत आयोजनामा अनियमितता गरेको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार ३ सय ५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार भएको दावीसहित अख्तियारले आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँबरसहित त्यसमा संलग्न ६ जनाविरुद्व आज मुद्दा दायर गरेको हो ।
आयोजनाका लागि परामर्शदाता छनोटका क्रममा कम अंक प्राप्त गर्नेलाई बढी र बढी ल्याउनेलाई कम अंक प्रदान गरी भ्रष्टाचार गरिएको आरोप–पत्रमा उल्लेख छ । कम मूल्य प्रस्ताव गर्नेलाई जानीजानी कम अंक दिएको, डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन पेश गर्नुपर्नेमा डिटेल कन्ट्रक्सन ड्रोइङलाई नै डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन मानेको पाइएको अख्तियारले बताएको छ ।
अख्तियारले तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, उर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानून अधिकृत राजेशकुमार थापा र उदीपलाल श्रेष्ठलाई पनि दोषी देखाएको छ । उनीहरूविरुद्व तेह्र करोड बैसठ्ठी लाख सत्ताइस हजार एक सय पचहत्तर रुपैयाँ जरिवाना र एक–वर्ष कैद सजायको माग दावी गरिएको छ ।