१३ बैशाख २०८१, बिहीबार
Follow Us

सबैका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि : नेता नेपाल

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०६:२५

पोखरा । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गर्नुभयो ।
नेता नेपालले भन्नुभयो– “अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।” प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उहाँले जनताका सेवा र सुविधा घरदैलोमा पु-याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गर्नुभयो ।
उहाँले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गर्नुभयो ।