Anuja-pardhanअनुजा प्रधान, व्यवसायी, बेल्जियम

नेपालमा ममःजस्तै युरोपमा फ्रेन्चफ्राई लोकप्रिय छ । अनुजा प्रधानले बेल्जियममा पे्रmन्चफ्राई र जापानी खाना सुसीको रेस्टुरेन्ट सञ्चालन गरेकी छन् । व्यवसाय अलावा उनी केही समयअघिसम्म नेपाली जनसम्पर्क समितिको उपाध्यक्ष थिइन् । अहिले उनी भूमिकाविहीन छिन् । युरोपमा रेस्टुरेन्ट व्यवसाय, नेपाली जनसम्पर्क समितिको राजनीति र उनको व्यक्तिगत जीवनबारे कुमार राउतले गरेको कुराकानी :

० कति भो बेल्जियम बसोबास गर्नुभएको ?
– सन् २००४ मा आएका हौं, १४ वर्ष जति भएछ । रेस्टुरेन्ट व्यवसाय खोलेका छौं । पे्रmन्चफ्राई र सुसीको रेस्टुरेन्ट चलाएका छौं । मैले फ्रेन्चफ्राईको र श्रीमान्ले सुसीको रेस्टुरेन्ट चलाउनु हुन्छ ।

० नेपाली खानाको रेस्टुरेन्ट चल्दैन ?
– जुन खाना चल्छ, त्यही रेस्टुरेन्ट खोल्ने हो । नेपाली खानाको रेस्टुरेन्ट नचल्ने भन्ने होइन, तर हामीले फ्रेन्चफ्राई र जापानी खाना सुसीको बजार बढी देख्यौं ।

० फुड आइटम व्यवसायप्रति कसरी आकर्षित हुनुभयो ?
– विदेशमा आएपछि केही त गर्नैप¥यो नि । काम गर्नेभन्दा पनि हामी व्यवसायप्रति आकर्षित भयौं । त्यसो त मेरो परिवार पूर्णरूपमा मेडिकल क्षेत्रसँग सम्बन्धित थिए, तर म भने खाना बेच्नेतर्फ आकर्षित भएँ ।

० श्रीमान् श्रीमतीको किन बेग्लाबेग्लै रेस्टुरेन्ट ?
– क्षमता र उत्साह छ भने धेरै ठाउँमा व्यवसाय गर्न सकिँदो रहेछ भन्ने संकेत हो यो । जति ठाउँमा व्यवसाय गरे पनि पैसा एकै ठाउँमा जम्मा हुन्छ ।

० व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?
– पैसा कमाएको फिल गरेकी छु, नेपाली र विदेशी गरी १५ जनाभन्दा बढीले रोजगारी पाएका छन् । मैले एकजनालाई काम दिनु भनेको उसको पाँचजनाको परिवार चल्नु हो । अवसर खोज्न बेल्जियम आएको हुँ, दिन कटाउन होइन, आफूलाई पनि काम दाम प्राप्त भइरहेको छ, त्यसैले सन्तुष्ट छु ।

० पैसा धेरै कमाउनुभयो ?
– त्यस्तो धेरै होइन, पेसा व्यवसायबाट सन्तुष्ट छु ।

० नेपालमा चाहिँ फुड आइटम बेच्ने योजना छैन ?
– तत्काल नेपालमा गएर कुनै व्यवसाय गर्ने वातावरण बनेजस्तो लाग्दैन । नेपालमा बाहिर गएर खाने परम्परासमेत बसेको छैन । त्यति मात्र होइन, राज्यले समेत फुड मार्केटिङमा ध्यान पु¥याउन सकेको छैन ।

० नेपालमा व्यवसाय गर्न कस्तो वातावरण हुनुपर्छ ?
– मलेखुको माछा अन्नपूर्ण होटलमा बसेर खाने वातावरण बन्नुपर्छ । राजनीतिक स्थायित्व छैन, व्यवसायमा लगानी बढ्नुपर्छ, नत्र व्यवसाय चल्दैन ।

० नेपालमा कुनै क्षेत्रमा लगानी गर्नुभएको छैन ?
– लगानी गैरआवासीय नेपाली संघ (एनआरएन) मार्फत गर्ने हो, खासै उल्लेख गर्नलायक मेरो लगानी नेपालमा छैन । तीन–तीन घन्टामा भोक नलाग्ने हो भने देशलाई माया गरेर मात्र बस्नु हुन्थ्यो ।

० कुन कुन संघ–संस्थामा आबद्ध हुनुहुन्छ ?
– सन् २००८ देखि गैरआवासीय नेपाली संघ (एनआरएन) मा छु । नेपाली जनसम्पर्क समितिको पूर्वउपाध्यक्ष हुँ । भर्खरै नयाँ कार्यसमिति आएको छ, जनसम्पर्क समितिमा म अहिले भूमिकाविहीन छु ।

० उपाध्यक्ष भइसकेपछि अध्यक्षको हकदार होइन र ?
– हुनलाई हो, अध्यक्षमा उम्मेदवारी पनि दिएकी थिएँ, तर अन्तिम अवस्थामा आएर फिर्ता लिएँ ।

० किन नि ?
– मेरोभन्दा पनि बेल्जियमका नेपालीहरूको इच्छा र चाहनाबमोजिम मैले निर्णय लिएकी हुँ ।

० सहमतिमै छाड्नु भएको हो ?
– समय छ, अग्रजहरूलाई नेतृत्वको अवसर दिनुप¥यो भन्ने कुरा आयो । उपाध्यक्षले अध्यक्षमा दाबी गर्नु स्वाभाविक थियो, यद्यपि त्यो वातावरण बनेन । काम गर्नलाई पद नै चाहिन्छ भन्ने मेरो मान्यता होइन ।

० छोड्दा कस्तो महसुस भयो ?
– केही गर्छु भन्नेलाई अवसरबाट वञ्चित गर्नु हुँदैन थियो । मै खाउँ, मै लाउँ, सुखसयलमा मै बसूँ भन्ने ठूलो जमात रहेछजस्तो लाग्यो ।

० कम्युनिस्ट नभएर किन कांगे्रस बन्नुभयो ?
– कम्युनिस्टको भ्रातृसंस्थाबाट काम गर्ने अफर नआएको होइन, यद्यपि मलाई समाजवाद र लोकतन्त्रमा विश्वास लाग्छ । समाजवाद र लोकतन्त्र भयो भने सबै कुरा आफैं बन्दै जान्छ । विधि विधानबाहेक अध्यक्षले जे भन्यो, त्यो मान्नुपर्छ भन्ने हुँदैन । त्यसैले व्यक्तिको नेतृत्व विकासका लागि कांगे्रस राम्रो फोरम हो ।

० अब तपाईं अर्कोपटकको अध्यक्ष ?
– तर त्यही पदका लागि कुरेर बस्ने मान्छे परिनँ । महामन्त्री डा. शंशाक कोइरालालगायत नेपाली कांगे्रसका केन्द्रीय सदस्य र माननीयहरू आउनुभएको थियो । उहाँहरू सबैले यस विषयमा छलफल गर्नुभएको थियो ।

० पछिल्लो पटक नेपाल कहिले आउनुभएको थियो ?
– वैशाख १२ को भूकम्पपछि एनआरएनको उद्धार टोलीमा म पनि संलग्न भएकी थिएँ । मैले व्यक्तिगत त्यस्तो सहयोग गरेको त छैन, यद्यपि एनआरएको क्याम्पेनिङमा सहभागी भएँ । धेरै ठाउँमा गएँ, तर जहाँ गएँ, मैले मात्र जिन्स र जुत्ता लगाएर हुने रहेनछ भन्ने फिल भयो ।

० नेपाल कहाँ हो ?
– हामी नवलपरासी प्रगतिनगरका हौं । बुवाको चितवनमा मेडिकल पसल थियो । हजुरबुवा पनि यही क्षेत्रमा हुनुहुन्थ्यो । बुवा पनि अहिले बेल्जियमै हुनुहुन्छ ।

० विवाह ?
– टिपिकल एरेन्ज म्यारिज हो, नातेदारमार्फत मलाई हेर्न आए, कुरा छिन्यो, विवाह भयो ।

० तपाईंले पनि मन पराउनुभयो ?
– अभिभावकले मेरा लागि खोजिदिएको केटो नराम्रो होला भन्ने कल्पना पनि गरिनँ ।

बालबच्चा ?
– एउटा छोरा छ, ऊ बेल्जियममा ४ कक्षामा पढ्दैछ । यहाँ फ्रेन्च र अंगे्रजी भाषामा पढाइ हुन्छ । नेपाली लेख्न जान्दैन, बोल्न राम्ररी सक्छ ।

० नेपाल त बिर्सेजस्तै भएछ ?
– केही समयका लागि बिर्सेसरह भएको छ । नेपाल नगए पनि यहाँको नेपाली संघसंस्था र समुदायलाई छोड्न सकिँदैन । यी कुरा बच्चाले पनि थाहा पाइराखोस्, नेपाल र नेपाली नबिर्सियोस् भनेर सचेत छु ।

० अन्त्यमा ?
– युवा पुस्तालाई अवसर दिनुपर्छ । नेतृत्व एउटा पिँढीले मात्र ओगटेको छ, त्यसैले कांगे्रसमा विश्वास घट्दै गएको छ । सही समयमा सही निर्णय अहिलेको आवश्यकता हो । राजनीतिशास्त्रको पढाइ हुनुपर्छ । गोजीमा पैसा छ, लगानीको वातावरण छैन, त्यस्तो नहोस् ।