१३ बैशाख २०८१, बिहीबार
Follow Us

विमानस्थल अध्यागमनका अधिकारीलाई निलम्बन गरी छानबिन निर्देशन

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०६:५५

काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्ध लगाइए यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको नेतृत्व गरेका अधिकारीलाई निलम्बन गरी छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले वैदेशिक रोजगारीमा पठाउने ‘दलाल तथा बिचौलिया’को आर्थिक प्रलोभनमा परेर सरकारी अधिकारीले मानव तस्करीलाई प्रश्रय दिइरहेको भन्दै निलम्बन र छानविन गर्न निर्देशन दिएको हो ।
खाडी मुलुकमा महिला कामदार पठाउन प्रतिबन्ध लगाएपनि विमानस्थल अध्यागमनको ‘सेटिङ’मा विदेश पठाउन नरोकिएको समितिको ठहर छ । खाडी र मध्य–पूर्वसहितका ६ देशको स्थलगत अध्ययनपछि समितिले मन्त्रीलाई आइतबार बोलाएर द्वीपक्षीय श्रम सम्झौतासहितका उपयुक्त कानूनी आधार तयार नभएसम्म महिलालाई घरेलु कामदारका रुपमा विदेश पठाउने कार्य पूर्णरुपमा बन्द गर्न पनि निर्देशन दिएको छ । सरकारले झण्डै दुई वर्षअघि निर्देशिका जारी गर्दै गन्तव्य देशसँग सम्झौता गरेपछि मात्रै २४ वर्ष पुगेका नेपाली महिलालाई घरेलु कामदारका रुपमा पठाउन मिल्ने निर्णय गरेको थियो । त्यसयता थुप्रै नेपाली महिलालाई दलालले खाडी मुलुक पु-याएको समितिको निश्कर्ष छ । वैदेशिक रोजगारीका लागि झण्डै १ सय १० देश खुला गरेको नेपालले कामदारको सुरक्षा सुनिश्चित गर्न जम्मा ६ वटा देशसँग मात्रै श्रम सम्झौता गरेको छ ।