११ बैशाख २०८१, मंगलवार
Follow Us

यसरी छनौट गर्दैछ एमालेले स्थानीय तहको उमेद्वार

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार १४:१८

काठमाडौं । नेकपा एमालेले एक व्यक्तिले एक तहको निर्वाचनमा मात्र उम्मेदवार बन्न पाउने निर्णय गरेको छ । निर्वाचन तयारीका लागि आज बसेको स्थायी समितिको बैठकले स्थानीय तह, प्रदेशसभा र केन्द्रीय संसद्को निर्वाचनमध्ये एक व्यक्तिले एक तहमा मात्रै प्रतिस्पर्धा गर्न पाउने निर्णय गरेको हो ।
हरेक निर्वाचनमा एकै व्यक्ति प्रतिस्पर्धामा उत्रन चाहने प्रबृत्ति निरुत्साहित गर्न यस्तो निर्णय लिनु परेको बताइएको छ । बैठकले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणा–पत्र मस्यौदा समिति गठन गरेको छ । सो पार्टीको आजको स्थायी कमिटीको बैठकले गठन गरेको सो समितिमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्यहरु शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ र केन्द्रीय सदस्यहरु डा पुष्प कँडेल, लालबाबु पण्डित, विन्दा पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेठ र लालबाबु यादव सदस्य रहेका छन् ।
महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सो समितिमा सचिवहरु पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई, नेताहरु सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, भानुभक्त ढकाल, अग्नि खरेल, वंशीधर मिश्र, राधा ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ र रामकुमारी झाँक्री सदस्य रहेका छन् ।
पार्टीका तर्फबाट निर्वाचन आयोगमा समन्वय गर्ने जिम्मेवारी नेता सुवास नेम्वाङलाई दिइएको छ । बैठकले वडा कमिटीले चैत ३०, गाउँ र नगरपालिका स्तरीय कमिटीले दुईहजार चौहत्तर वैशाख ४, जिल्ला कमिटीले वैशाख ७ र प्रदेश कमिटीले वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नु पर्ने गरी कार्यतालिका पनि निर्माण गरेको छ । बैठकको सुरुमा बोल्दै अध्यक्ष केपी ओलीले नियम–कानून लत्याएको, प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश अटेर गरेको र निर्वाचन आचार–संहिता उलंघन गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।