६ बैशाख २०८१, बिहीबार
Follow Us

आज रामनवमी पर्व

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार ०८:०५

काठमाडौं । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईंदै छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्मदिनको स्मरणमा हरेक वर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाइन्छ । रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरमा श्रद्धा भक्तिपूर्वक पूजापाठ गर्ने चलन छ । त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।
यसैबीच, रामनवमीको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठाका कारण नेपाली राज्य प्रणालीले चर्को खडेरी भोग्नुपरेको औल्याएका छन् । त्रेता युगमा लोक हितका लागि धरतीमा अवतरित मर्यादा पुरुषोत्तम रामको स्मरण गर्ने दिनले त्यागशीलता, मर्यादा तथा लोकमान्यता जस्ता उच्चतम गुण एवं गरिमाको सम्झना गराउँदै त्यसतर्फ लाग्न उत्साहित गर्ने पूर्वराजा शाहको सन्देशमा उल्लेख छ । पूर्वराजा शाहले रामनवमीजस्तो पुनित पर्वले नेपाली भूलोकमा सबैलाई ‘सबैको हित गरौं’ भन्ने दिव्य आदर्श दिन सकोस् भन्ने कामना पनि गरेका छन् ।।
भगवान श्रीरामको जन्मोत्सव जनकपुरमा विशेष पूजा गरी मनाइँदै छ । जनकपुरस्थित राम र जानकी मन्दिरमा विहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । रामनवमीका दिन गंगासागरमा स्नान गरी राम र जानकी मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । रामनवमीका लागी नेपाल र भारतका २ सय भन्दा बढी साधु जम्मा भएको गुठी संस्थान जनकपुरले जनाएको छ ।
यसैगरी, सुनसरीको रामधुनीमा पनि विहानैदेखि श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति छ । सुनसरीको प्रकाशपुर र सिगियाको सिमानामा रहेको घनाजगंलमा भगवान श्रीराम एक रात धुनी बालेर बास बसेको पौराणिक मान्यताका कारण आज रामधुनीमा विशेष पूजा अर्चना गरिन्छ ।