६ चैत्र २०८०, मंगलवार
Follow Us

भारतले किन बोलायो सीमाविद् र पूर्वसुरक्षा प्रमुखहरुलाई

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार ०८:३०

काठमाडौं । भारतीय राजदूत पदभार सम्हालेको २ हप्तामै अकस्मात दिल्ली जानु र दिल्लीको निर्देशनमा नेपाल भारत सुरक्षा पहिचान र निदान शीर्षकमा हुने विशेष कार्यक्रममा नेपालका पूर्वसुरक्षा प्रमुखहरु, सीमाविद्, केही ओपिनियन क्रियटरहरुलाई समेत भारतीय निम्तो प्राप्त भएको छ ।
आफ्नो मुलुकमा चुनाव हुन्छ कि हुन्न भन्ने अन्योल छ, सुरक्षात्मक हिसावले अनेक चुनौतीहरु छन्, त्यसमा सहयोग र सहजकर्ताको भूमिका खेल्नुपर्नेहरु नै दिल्लीको बासमति चामलको भात खाँदै देहरादूनको चिसोमा तातो बहस गर्न जान लागेका छन् । विज्ञहरु भन्छन्– भारतले यो कार्यक्रममा पूर्वसुरक्षा प्रमुख, विशिष्ट पदमा रहेका र सीमाविद्लाई समेत निम्तो दिनु रहस्यमय छ । किन भने काठमाडौंमा १९५० को सन्धि लगायतका समस्याहरुको निदान निकाल्न नेपाल–भारतले गठन गरेको प्रवुद्ध समूहको बैठक हिजो मंगलबारदेखि सुरु भएको छ ।
त्यो बैठकको गति र परिणतिमा समेत विशेष ध्यान दिनुपर्ने बर्ग देहरादूनतिर लाग्नु, २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई समेत नजरअन्दाज गर्नु र संविधान संशोधनको मुद्दा उठिरहेका बेलामा भारतले यो के गर्न लागेको भनेर बुझ्न सकिने स्थिति छैन । भारतले यो सम्मेलन चैत २९ र ३० गते आयोजना गर्दैछ र त्यसका लागि नेपालका प्रतिनिधिहरुको खास रेखदेख, हेरचाहको समेत बन्दोबस्त मिलाइएको खबर प्राप्त भएको छ ।
यस सम्बन्धमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका कुनै पदाधिकारीले मुख खोलेका छैनन्, अनुमति मागेको वा दिएको पनि छैन । लावालस्कर जानु उचित हो र ? भन्ने प्रश्न उठेको छ ।