६ चैत्र २०८०, मंगलवार
Follow Us

उपत्यकावासीलाई चश्मा अनिवार्य लगाउन डाक्टरको सल्लाह

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार ०९:२१

dddउपत्यकामा वातावरणीय प्रदुषण बढ्दो मात्रामा छ । बिकास निर्माणका काम भैरहँदा सडक धुलाम्मे छ । उपत्यकाको धुलो र धुवाँले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । उपत्यकावासीलाई चश्मा अनिवार्य लगाएर हिड्न आँखाको नानी विज्ञ डा. भाइराजा श्रेष्ठले आग्रह गरेका छन् । आँखालाई गर्ने असर र रोकथामका बारेमा दृष्ट्रि आई केयर सिस्टमका कार्यकारी निर्देशक श्रेष्ठसँग लोकराज अधिकारीले गरेको कुराकानी यस्तो छ–

डा. भाइराजा श्रेष्ठ, कार्यकारी निर्देशक, दृष्टि आई कियर सिस्टम
० उपत्यकाको अहिलेको प्रदूषणले आँखामा के–के समस्या देखिन्छ ?
– ध्वाँधुलोको प्रदूषणले आम मानिसमा अहिले एलर्जीको समस्या देखिएको छ । बच्चाहरुलाई भर्नल केराटो कन्डन एन्टिभाइटिस समस्या देखिएको छ । यो पनि एक किसिमको एलर्जी हो, यसको पनि मुख्य कारण भनेको ध्वाँधुलो नै हो । यो दीर्घकालीन समस्यामध्येको एउटा हो । ध्वाँधुलोले वयस्क मानिसमा पनि सामान्य एलर्जी पनि हुनसक्छ । यसैको कारणले सुख्खापनको पनि समस्या बढ्दैछ । जसले आँखाको नानी खराब पार्न सक्छ, विस्तारै अल्सर हुनसक्छ । अल्सर बढ्दै गयो भने अन्धोपन हुनसक्छ ।

० प्रदूषणले आँखाको नानीलाई के समस्या देखिएको छ ?
– हाम्रो अस्पतालमा प्रत्येक दिन ४–५ जना आँखाको नानीमा बालुवाको कणलगायत फोहोर फेरेर आइरहनुभएको छ । कतिपयको इन्फेक्सन भइसकेको भेटियो । नानीमा धुलो पर्छ, उनीहरुले समयमै उपचार गर्दैनन्, बजारमा गएर सामान्य औषधि लगाउँछन्, जसले गर्दा गम्भीर समस्या लिएर आएको पाउँछौं ।

० ध्वाँ धुलोबाट आँखालाई कसरी जोगाउने ?
– सामान्य चस्मा लगाउँदा पनि धेरै हदसम्म सुरक्षा हुन्छ । विहान बेलुकी सफा पानीले आँखा सफा गर्नुपर्छ । आँखामा लगाउन आँशुको झोल पाइन्छ, त्यो लगाउनुपर्छ, जसले साइटइफेक्ट नगरोस् ।

० ध्वाँ धुलोमा काम गर्ने श्रमिकको आँखालाई के असर पर्न सक्छ ?
– ध्वाँ धुलोमा काम गर्नेले आँखाको सुरक्षामा पनि ध्यान दिनुपर्छ । आँखा पोलिराख्ने, आँशु बगिराख्ने, चिलाइराख्ने समस्याले गर्दा हामी काममा केन्द्रित हुन सक्दैनौं, जसले गर्दा गुणस्तरीय जीवनमा हामीले सम्झौता गरिराख्नुपर्ने हुन्छ । प्लास्टिकको चस्मा मात्र लगाएर काम गरियो भने केही हदसम्म आँखाको सुरक्षा हुनसक्छ ।

० नेपालमा आँखाको के समस्यालाई समाधान गर्न सकिन्छ, के प्रविधि भित्रिएको छ ?
– नेपालमा सन् १९८१ मा एउटा अध्ययन भएको थियो, त्यो अध्ययनले अन्धोपनको समस्या भनेर मोतियाविन्दूलाई देखाएको छ । त्यसबाहेक जलविन्दू, रेटिना (आँखामा हुने पर्दा) को समस्या देखिएको छ । मोतियाविन्दुको एडभान्स अपे्रसनलाई ‘फेको इमोलसिडिकेशन’ भनिन्छ । यसमा मेसिनको सहयोगमा लेन्सलाई निकालेर अर्को लेन्स लगाउने हो । यसमा पनि एडभान्स भनेको विना इन्जेक्सन थोपा मात्र राखेर अपे्रसन गर्न सकिन्छ । हाम्रो अस्पतालमा हामीले यो प्रविधिबाट अपे्रसन गर्न सुरु गरिसकेका छौं । यो बाहेक रेटिना र जलविन्दुको समस्याको पनि उपचार गर्न सकिन्छ ।

० धुलोको स–साना कण आँखामा बस्न सक्छ ?
– बालुवाको कण ठ्याक्कै शिशाजस्तो पारदर्शी हुन्छ । त्यस्ता वस्तु परिसकेपछि आँखा बिझाउँछ, नांगो आँखाले हामी देख्न सक्दैनौं । मेसिनको सहयोगमा त्यसलाई निकाल्न सक्छौं । त्यस्ता धुलोको कण लेन्सको पछाडिसम्म पुग्यो भने मोतियाविन्दु बनाइदिन्छ । त्योभन्दा पछाडि गयो भने पर्दा पनि फाटने हुनसक्छ ।

० उपत्यकामा यात्रुको आँखामा धुलोको कण प-यो भने के गर्नुपर्छ ?
– सबैभन्दा पहिला सफा पानीले आँखा सफा गर्नुपर्छ । पानीले पखाल्यौं भने धेरै हदसम्म जान सक्छ । यदि गएन भने नमिच्ने, मिच्यो भने ती कणहरु झन भित्र जान सक्छ । त्यस्तो अवस्थामा तुरुन्त नजिकको अस्पतालमा जानुपर्छ । डाक्टरलाई देखाएर औषधि प्रयोग गर्नुभयो भने ठूलो समस्या हुनबाट जोगिन सक्छ ।

० आँखाको नानीमात्रै बिग्रन सक्ने कारण के हुनसक्छ ? कसरी रोकथाम गर्ने ?
– धुलोको सिधै पेनिटेसन वा चोटपटकले आँखामा इन्फेक्सन हुनसक्छ । आँखामा घाउ भयो भने दाग बस्छ । आँखाको नानी भनेको शिशाजस्तो पारदर्शी वस्तु हो । त्यसमा सानो मात्र दाग देखियो भने हाम्रो दृष्टिशक्तिमा ह्रास हुँदै जान्छ । दाग ठूलो भयो भने झन समस्या उत्पन्न गराउँछ । साधारण दाग छ, ठूलो असर छैन भने हामीले केही गर्नुपर्दैन, ठूलो दाग छ, हेर्न अप्ठ्यारो भइरहेको छ भने हामी नानी प्रत्यारोपण पनि गर्न सक्छौं ।

० चस्मका कस्तो लगाउने ?
– नहुने मामाभन्दा कानो मामा ठीक भनेजस्तै हो । सकेदेखि अल्ट्राभ्वाइलेट प्रोटेक्टिभ चस्मा लगाउँदा धेरै राम्रो हो ।

० किन्दा त्यो कसरी थाहा पाउनु ?
– बजारमा पनि पाइन्छ । अस्पतालमा कुन चस्माले कति मिटरको रेज छेक्छ भनेर जाँच गर्ने मेसिन हुन्छ । ग्यारेन्टेट ब्राण्डेडको चस्मामा अल्ट्राभ्वाइलेट प्रोेक्टिभ हुन्छ । सकिन्छ ब्राण्डेड लगाउनुहोस्, नसके सामान्य चस्मा लगाउन सल्लाह दिन्छु । एकदमै कालोभन्दा ठीकै किसिमको चलाउँदा राम्रो हुन्छ ।