६ चैत्र २०८०, मंगलवार
Follow Us

फोरम लोकतान्त्रिकसँग दुई पार्टीको एकीकरण

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार १४:३०

काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । यहाँ आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गर्नुभएको हो ।

घोषणापछि पार्टीको नयाँ नाम ‘नेपाल लोकतान्त्रिक फोरम’ राखिएको फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामजनम चौधरीले जानकारी गराउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारले पार्टीको उचाइ बढेको भन्दै आगामी दिनमा आदिवासी, दलित, पिछडिएका पक्षको हितमा पार्टी लाग्ने बताउनुभयो ।

जनमुक्तिका अध्यक्ष थापा र जनजातिका अध्यक्ष लामाले हिमाल, पहाड, तराई र मधेसलाई एक बनाउनका लागि आफू एक भएको बताउनुभयो । उहाँहरुले पार्टी फुटेर देशमा सङ्क्रमणकाल बढेको भन्दै आफूहरुबीच मुद्दा एक भएकाले फुटेर होइन जुटेर काम गर्नका लागि एकता गरेको जानकारी गराउनुभयो ।

पार्टी एकीकरणपछि व्यवस्थापिका–संसद्मा १७ सदस्य भइ फोरम पाँचाँै ठूलो दल बनेको छ । नयाँ नाम दिइएको फोरममा शिवलाल थापा,सीमाकुमारी विक र यशोदाकुमारी लामासमेत सांसद थपिनु भएकाले एकतापछि पार्टीको अध्यक्षमा गच्छदार र सहअध्यक्षमा क्रमशः थापा र लामा रहनुभएको फोरमका उपाध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार तीनै पार्टीमा अहिले रहेको नेताहरुको जिम्मेवारी नयाँ महाधिवेशन नभएसम्मका लागि यथावत् राखिएको छ ।