७ बैशाख २०८१, शुक्रबार
Follow Us

निधिलाई हटाएर सिटौला उपप्रधान र गृहमन्त्री बन्ने योजनामा

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार १५:०९

काठमाडौं । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले निवासमा मन्त्रिपरिषद्को बैठक डाकेका थिए । वरियाताक्रम नमिलेसम्म कांग्रेसका मन्त्रीले मन्त्रिपरिषद्को बैठकमा सहभागी नहुने अडान लिएपछि आजको बैठक पनि स्थगित भयो । मन्त्रिपरिषद्को बैठक नबसेको दुई साता पुग्दैछ ।

पटक पटक मन्त्रिपरिषद्को बैठक स्थगित भएपछि कांग्रेसबाट नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आन्तरिक छलफलका लागि आफ्नो कार्यकक्षमा कांग्रेस मन्त्रीको बैठक बोलाए ।
मन्त्री निधिले बोलाएको बैठकमा स्वास्थ्यमन्त्री गगन थापा केही ढिलो पुगेका थिए भने अन्य मन्त्रीहरु समयमै पुगेका थिए । उक्त बैठकलाई आधार बनाएर केही अनलाइन सञ्चारमाध्यमले गृहमन्त्री निधिको राजीनामाको हल्ला पिटियो ।

कांग्रेस  निकट पत्रकारको संगठन प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सञ्चालन गरेको हाम्रा कुरा डट कमले उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिको राजीनामा र वरियता क्रममा छलफल भएको स्रोतलाई उदृत गर्दै समाचार प्रवाह गरेको थियो ।
गृहमन्त्री निधिका कानुनी सल्लाहकार अरुणकुमार पञ्जियारका अनुसार मन्त्रीको राजीनामाबारे कुनै छलफल नभएको बताए । आन्तरिक सरसल्लाह गर्नका लागि मन्त्रीले कांग्रेसका तर्फबाट मन्त्रीहरुलाई बोलाउनु भएको हो ।

सल्लाहकार पञ्जिायरका अनुसार मन्त्री निधि भोलि शुक्रबार पूर्वाञ्चलका सुरक्षा प्रमुखसँग छलफलका लागि विराटनगर जाँदै हुनुहुन्छ । शनिबार सप्तरीमा प्रहरीको गोली लागी मृत्यु भएका ५ जनालाई जनही १० लाख रुपैयाँ बाँड्ने कार्यक्रम रहेको उनले बताए ।

आइतबारका लागि मन्त्रिपरिषद्को बैठक तोकिएकाले गृहमन्त्री निधिले कतार जाने कार्यक्रम रद्द गरेको सल्लाहकार पञ्जियारले जानकारी दिए ।
प्रहरी प्रमुखको नियुक्तिको विषयलाई लिएर गृहमन्त्री र नेपाली कांगे्रस पार्टी सभापति शेरबहादुर देउवाबीचको खटपट भइरहेको विषयलाई आधार बनाएर मन्त्री निधिले राजीनामा दिने चर्चा कांग्रेसभित्रको एउटा पक्षले चलाइरहेको छ । निधिलाई हटाएर कृष्णप्रसाद सिटौलालाई उपप्रधान तथा गृहमन्त्री बनाउन एक्सरसाइज स्वरुप यस्तो हल्ला चलाइएको जानकारहरु बताउँछन् ।