१३ बैशाख २०८१, बिहीबार
Follow Us

रक्तक्यान्सर पीडित भण्डारीको उपचारमा सहयोग

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०८:१८

बाबियाचौर । रक्त क्यान्सरबाट पीडित म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमकी फूलमाया भण्डारीको उपचारका लागि प्रवासीबाट बिहीबार रु दुई लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।
साबिक ताकम–४ की ३३ वर्षीया भण्डारीको उपचारका लागि बेलायतबाट रु एक लाख १५ हजार र कतारबाट रु एक लाख १४ हजार आर्थिक सहयोग प्राप्त भएको हो । बेलायतमा उमेश राना र कतारमा बालकृष्ण आचार्यको पहलमा सङ्कलित रकम परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत उपलब्ध गराइएको छ ।
परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि कोषले फूलमाया बचाउ अभियान सञ्चालन गरेको छ । अभियानमा देश–विदेशमा रहेका म्याग्देलीबाट सहयोग प्राप्त हुने क्रम जारी छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेकी भण्डारीको स्वास्थ्यमा सुधार आएको आफन्तले बताएका छन् । रोजगारीको सिलसिलामा एक वर्षअघि कतार गएका फूलमायाका श्रीमान् रोशन स्वदेश फर्किएर श्रीमतीको उपचारमा जुटेका छन् ।
खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका भण्डारी दम्पतीका दुई छोरा र दुई छोरी छन् । उनको उपचारका लागि रु १५ लाख खर्च हुने अस्पतालले जनाएको छ ।