१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायत बस्ने दिलमायाले गरिन् लमजुङको स्कुलमा ६ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०८:२२

लमजुङको क्व्होलासोंथर गाउँपालिका-६ पसगाउँमा रहेको पसगाउँ ठाँटी माध्यमिक विद्यालयमा एक दम्पत्तिले ६ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

गिलुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका दिलमाया गुरुङले पति नन्दप्रसाद गुरुङका साथ माइती पसगाउँको विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । बेलायतस्थित तमुधिं लन्डन इकाई आमा समितिका महासचिव समेत रहेका दिलमाया र उनका पति नन्दप्रसादको पहल र बेलायतको एलएससी कम्पनीको सहयोगमा विद्यालयमा अक्षयकोष स्थापना गरेको दिलमायाले बताइन् ।

भूकम्पबाट प्रभावित उक्त विद्यालयमा विद्यार्थीहरु पालमुनी बसेर अध्ययन गरिरहेको फोटो फेसबुक लगायत सामाजिक सञ्जालमा देखेपछि स्कुलका लागि सहयोग जुटाउने अभियान थालेको उनले बताइन् । रकम एक कार्यक्रमकाबीच गुरुङ दम्पत्तिले विद्यालयमै पुगेर व्यवस्थापन समिति अध्यक्ष बलराम गुरुङलाई बुधबार हस्तान्तरण गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलराम गुरुङले परदेशबाट गाउँघरलाई सम्झेर विद्यालयमा सहयोग गरेकोमा सहयोगी दातालाई आभार व्यक्त गरे ।

गुरुङ दम्पत्तिले आगामी तीन वर्षको लागि विद्यालयको कक्षा १० को परीक्षामा प्रथम हुने विद्यार्थीलाई १० हजार नगद तथा विद्यालयमै उत्कृष्ट अंक ल्याउने जेहेन्दार एकजना विद्यार्थीलाई वार्षिक नगद १३ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । विद्यालयमा भुजुङको कमागाउँबाट आएर छात्रावासमा बसी अध्ययन गरिरहेका विद्यार्थीलाई गुरुङ दम्पत्तिले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालयलाई दुई थान फुटबल र प्रत्येक विद्यार्थीलाई एक थान कलम र चकलेट वितरण गरेका छन् ।

यस्तै, पसगाउँकै शान्तिदीप आमा समूहलाई ५ हजार, दूधपोखरी युवा क्लबलाई ५ हजार साथै शिशु स्याहार केन्द्रलाई ५ हजार रुपैयाँ सहयोग गरेका भूपू विद्यार्थी शिव गुरुङले जानकारी दिए । गाउँमा जारी १६ वर्षमुनिका महिलाको फुटबल प्रतियोगितको प्रथम पुरस्कार गुरुङ दम्पत्तिले प्रायोजन गरेका छन् । प्रथम पुरस्कार ८ हजार रुपैयाँ रहेको छ । सहयोगदाता दिलमायाले जन्मभूमिप्रतिको माया र कर्तव्यबाट टाढा भएर बस्न नसक्ने बताइन् ।