१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचन लक्षित सुरक्षा गोष्ठी पूर्वबाट

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०८:२२

विराटनगर । स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरु भएको छ । गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठिमा पूर्वाञ्चल क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागिता छन् ।
सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा धारणा निर्माण, आमसमस्यालाई समाधान गर्न मानसिक रुपले तयार हुने, सुरक्षाको अवस्थालगायतका विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ ।
गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सरकार गम्भीर रहेको बताउनुभयो ।
निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नका लागि चुनौतीहरुको पहिचान र वर्गीकरण गरेर सूचनाको अवस्था तयार पार्नका लागि आवश्यक कार्ययोजना बनाउनुपर्ने बताउँदै उहाँले “भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाको आवश्यक सम्पूर्ण तयारी भइरहेको जानकारी दिनुभयो ।”
गृहराज्यमन्त्री बानियाँले मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने उल्लेख गर्दै सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
गृहसचिव लोकदर्शन रेग्मीले मुलुक निर्वाचनको महाअभियानको सङ्घारमा उभिएको बताउँदै सरकारको निर्णय र जनताको चाहनालाई पूरा गर्नका लागि सुम्पिएको जिम्मेवारीलाई पूरा गर्न उच्च मनोबलका साथ कार्य गर्न निजामती र सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो ।
“सङ्घीय प्रणालीको लाभको प्रतिफल यो स्थानीय निकायको निर्वाचनबाट शुभारम्भ हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन प्रतिबद्ध हुनुपर्दछ उहाँले भन्नुभयो ।”पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा सुरु भएको सो गोष्ठीमा गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी, नेपाल प्रहरीका निमित प्रहरी महानिरीक्षक डा दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी तथा नेपाली सेनाका पूर्वाञ्चलका पृतनापति गोकुल भण्डारीको पनि गोष्ठीमा सहभागिता रहेको छ ।