१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०८:४३

दामस्कस । अमेरिकाले सिरियामा शुक्रबार मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा चार जना सिरियाली सैनिकहरुको मृत्यु भएको अनुगमनकर्ताले जनाएका छन् । सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले आक्रमण गरेको जनाएको छ ।
सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारण विरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाइल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ ।
अमेरिकाले गत मङ्गलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ । रासायनिक आक्रमणमा २७ बालबालिकासहित थुप्रै सर्वसाधारण मारिएको समाचार विभन्नि सञ्चार माध्यमले दिइरहेका छन् । केही दिन अगाडि उत्तरी सिरियामा रासायनिक अस्त्रले हमला गर्न प्रयोग गरिएको भनिएको होम्स नगरमा रहेको सिरियाली हवाई अखाडालाई पनि क्षेप्यास्त्र प्रहारको निशाना बनाइएको छ ।