७ बैशाख २०८१, शुक्रबार
Follow Us

विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ११:०५

काठमाडौं । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु-याउने भएको छ । “विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु-याइन्छ,” हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भन्नुभयो – “हुलाकीमार्फत घरघरमा पैसा पु-याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ ।”
आइएमइसँगको समन्वयमा आइएमइमा पठाएको पैसा विभागको हुलाक बचत बैंक र जिल्ला हुँदै घरघरमा पु-याइने छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम केही जिल्लाबाट सुरु गरिने निर्देशक अधिकारीले बताउनुभयो ।
हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ । विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ । सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाकीमार्फत घरघरमा पैसा पठाउनेबारे मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस बारे कार्यविधि बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले हुलाक सेवाको पुनःसंरचना गर्दै सबै हुलाक कार्यालयलाई प्रविधियुक्त बनाउने मन्त्रालयको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।