१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार १५:०७

काठमाडौं । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो ।
काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । सो अवसरमा निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको सहभागिता, निर्वाचनमा आउन सक्ने चुनौती र ऐन कानुनमा देखिएको कमी कमजोरीबारे छलफल भएको रक्षामन्त्री खाँणले जानकारी दिनुभयो ।
छलफलमा उहाँहरुबीच स्थानीय तहको निर्वाचन उम्मेदवार छनोटको विधि र प्रक्रियाका सम्बन्धमा समेत छलफल भएको बताइएको छ । पार्टीको विधानअनुरुप केन्द्रीय पदाधिकारीलाई उक्त जिम्मेवारी प्रदान गर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा पनि गहन छलफल भएको बुझिएको छ ।
आयोगले निर्वाचन तयारी राम्रो गरेको महसुस भएको बताउँदै रक्षामन्त्री खाँणले केहीबाहेक अधिकांश जिल्लामा निर्वाचन कार्यालयले बोलाएको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि सहभागिताले पनि निर्वाचनको सुनिश्चिता प्रदान गरेको छ भन्नुभयो ।
केही जिल्लामा बोलाएको समयमा राजनीतिक दलका प्रतिनिधि उपस्थित नभएका कारण जटिलता र समस्या आएको कुरा सो अवसरमा आयोगका तर्फबाट उहाँहरुलाई जानकारी गराइएको थियो ।
निर्वाचनको लागि सरकारले आयोगलाई सबैखाले सहयोग उपलब्ध गराउँदै आएको बताउँदै रक्षामन्त्री खाँणले अहिले उठिरहेका कतिपय विषयवस्तु संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उल्लेख गर्नुभयो । एक प्रश्नको जवाफमा रक्षामन्त्री खाँणले भन्नुभयो–सबैलाई समन्वय गरेर सुरक्षा प्रदान गर्ने उद्देश्यसहित नेपाली सेना सुरक्षाको बाहिरी घेरामा रहेर निर्वाचनमा खटिने छ ।