१५ चैत्र २०८०, बिहीबार
Follow Us

विद्युत् ठगी धन्दामा दरबारमार्गको होटल अन्नपूर्ण संलग्न

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार १४:१८

काठमाडौं । राजधानीको दरबारमार्गमा रहेको होटल डेला अन्नपुर्ण प्रालीले होटल परिसरमै सन्चालित पसलहरुसँग सरकारले तोकेभन्दा बढि विद्युत महशुल उठाउदै आएको तथ्य बाहिर आएको छ । विद्युत प्राधिकरणले तोकेको महशुलमा दश प्रतिशतभन्दा बढि लिन नपाउने नियम भएपनि होटलले दुई सय प्रतिशतभन्दा बढि महशुल असुली गरिरहेको खुल्न आएको हो ।
दरबारमार्गमा रहेको होटल डेला अन्नपुर्ण प्रालिले परिसरमा भाडामा सञ्चालित दमास ज्वेलरीसँग सरकारी रेटभन्दा धेरै महशुल उठाएको हो । विद्युत प्राधिकरणले प्रति युनिट विद्युत महशुल बाह्र रुपैया नब्बे पैसा तोकेको छ । तर नौ वर्ष देखि परिसरमा सञ्चालित ज्वेलरीसगँ अन्नपुर्ण होटलले प्रति युनिट ३८ रुपैयाँ बहत्तर पैसा महशुल लिने गरेको छ ।
चर्को महशुलको विषयमा विवाद भएर होटल सञ्चालकले ज्वेलरीको विद्युत लाइन केही दिन अघि काटेपछि महशुल विवाद बाहिर आएको हो । ज्वेलरी सञ्चालकले नियम विपरित चर्को रुपमा राखिएको विद्युत महशुल नतिर्ने अडान लिएपछि होटलले गत फागुन २७ गते लाइन काटेको थियो ।
अहिले यो विषय विद्युत प्राधिकरणसम्म पुगेको छ । ज्वेलरी सञ्चालकले गत मंसीरमै नेपाल विद्युत प्राधिकरणमा उजुरी दर्ता गराएका थिए । उजुरीको कुनै सुनुवाई नभएपछि ज्वेलरी सन्चालकंले चैत्र दुई गते उर्जा मन्त्रालयमा छानविन गरिपाउ भन्दै निवेदन दिएपछि मन्त्री जर्नादन शर्माले छानविन र कारवाहीको निर्देशन दिएका थिए ।
तोकिएको महशुलभन्दा बढी रकम असुल्नेलाई विद्युत प्राधिकरणले कारवाही गर्न सक्ने व्यवस्था छ । होटल अन्नपुर्णले दुई सयप्रतिशतभन्दा बढि रकम लिएको सम्वन्धमा छानविन तथा कारवाही प्रक्रिया अघि बढाईसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
घिसिङका अनुसार प्राधिकरणले आइतवार होटल र ज्वेलरी सञ्चालक दुबैलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ । अन्नपुर्ण होटल मात्रै हैन राजधानीका ठुला मल र ब्यापारिक भवनदेखि घरधनीहरुले भाडामा बस्नेसँग नियम विपरित चर्को महशुल उठाइरहेका छन् । तर विद्युत प्राधिकरणले त्यस्ता उपभोक्तालाई कानूनी कारवाहीको दायरामा भने ल्याउन सकेको छैन ।