१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोल्छाको भोट माग्दै मुरारका र राणा

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार १४:४८

काठमाडौं । आउँदो सोमबार र मंगलबार हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनको चुनावी सरगर्मी बढ्दै गएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने नयाँ नियमअनुसार यसपटक भवानी राणा अध्यक्ष बन्ने छन् । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि ठूलै रस्साकसी सुरु भएको छ । उक्त पदमा किशोर प्रधान, शेखर गोल्छा र अनुप प्रधानले छुट्टा छुट्टै प्यानल लिएर मैदानमा उत्रिने भएपछि रस्साकस्सी सुरु भएको हो । महासंघ वर्तमान नेतृत्वले दुवै प्यानलबीच सहमतीको प्रयास गरिरहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सहित अन्य पदमा हालका एसोसिएट उपाध्यक्ष शेखर गोल्छा प्यानललाई जिताउन वर्तमान अध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष भवानी राणा सार्वजनिक रुपमै भोट माग्न थालेपछि महासंघमा चरम गुटबन्दी र पूर्वाग्रही धारणाको विकास भएको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ वर्तमान अध्यक्ष मुरारका र भावी अध्यक्ष राणाको साथ र सहयोग पाउने भएपछि वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छाले महासंघमा ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने अडान प्रस्तुत गर्न थालेका छन् । गोल्छा प्यानललाई महासंघका अर्का पूर्व अध्यक्ष द्वय प्रदिप श्रेष्ठ, चण्डिराज ढकालको पनि समर्थन रहेको छ । यता, गोल्छाकै प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान महासंघमै लामो समयको अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् । प्रधान प्यानल निकै कडा मेहनतका साथ चुनावी मैदानमा उत्रिएको छ ।
वरिष्ठ उपाध्यक्ष किशोर प्रधानले महासंघका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष नै आफुलाई हराउने खेलमा लागि परेको आरोप छ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानलाई महासंघका पूव अध्यक्षहरु सुरज वैध, कुशकुमार जोशी तथा उपाध्यक्ष भाष्करराज कर्णिकारको समर्थन रहेको छ । यता प्रधान समुहले पनि भारी मत लिएर जित्ने अडान प्रस्तुत गर्दै आएको छ । समान हैसियतका प्रधान र गोल्छामध्ये गोल्छालाई जिताउनेतर्फ महासंघ पदाधिकारी लागिपरेपछि यतिखेर प्रधान प्यानललाई सहमती गराउने प्रयासमा अध्यक्ष मुरारका र वरिष्ठ उपाध्यक्ष राणा लागि परेका छन् । तर, प्रधानले गोल्छा आफू भन्दा उमेरले सानो र अनुभवमा पनि कमि भएकाले सहमति नगर्ने र आफ्नो स्वाभिमान नगिराउने जवाफ दिदैं आएका छन् । गोल्छाले चाहि आफै वरिष्ठ उपाध्यक्ष हुनुपर्ने अडान लिदै आएका छन् । गोल्छाले महासंघकी भावी अध्यक्ष भवानी राणाले चाहेको व्यक्तिलाई जिताउन खोज्नु न्याय संगत भएको बताएका छन् । वस्तुगततर्फको उपाध्यक्षसहित कार्यसमिति सदस्यमा नेपाल गलैचा निकासी संघका अध्यक्ष अनुपबहादुर मल्लको नेतृत्वमा टिम खडा गरिएको छ ।
– सीता पोखरेल