१५ चैत्र २०८०, बिहीबार
Follow Us

स्ट्राटफोर्ड-अपन-एभन : शेक्सपियरका प्रशंसकहरुकालागि साहित्यिक तिर्थस्थल !

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार ०७:५६

स्ट्राटफोर्ड-अपन-एभन महान साहित्यकार विलियम शेक्सपियरको जन्मस्थलका रुपमा बिश्वविख्यात छ । शेक्सपियर सन् १५६४ मा यसै घरमा जन्मिएका थिए । यसै घरमा उनी हुर्के र यहीं उनले पांच बर्ष एनी हाथवेसंग बिताएका थिए । शेक्सपियरका बाबुले यहि घरवाट पन्जा सिलाउने ब्यबसाय संचालन गर्थे । सानै ब्यबसाय भए पनि घर देख्दा उनी त्यस जमानाका हुने खाने नै मानिस थिए कि भन्ने भान हुन्छ । काठ र ढुंगाद्वारा सोह्रौं शताब्दीमा निर्मित यो घरलाई कयौंपटक जिर्णोद्वार गरेर चार सय पचास बर्षसम्म ज्युँ का त्यूँ राखिएको छ । कुनै समय अमेरिकीहरुले यो घरको स्वामित्व खरिद गरेर उतै अमेरिकातिर यसलाई बिस्थापित गर्ने प्रयास गरका थिए भन्ने भनाइ रहेछ ।

घर भित्र पस्ने बित्तिक्कै भुईतलामा शेक्सपियरका नाटकको झ-झल्को दिने गरी उस्तै हाउभाउका साथ एक बयस्क व्यक्तिले त्यस घरको छोटो परिचय गराउछन् । भुँई तल्लामा दुई कोठा छन् । दुवै कोठामा फाएर प्लेस राखिएको छ । माथिल्लो तलामा स-साना तिन कोठा छन् जहाँ शेक्सपियरले सुत्ने गरेको बिछौना, उनले उपयोग गरेका समानहरु संरक्षण गरेर राखिएको छ ।

घर अगाडी सानो तर अति रमणीय उद्यान छ । उद्यानको बिचमा शेक्सपियरियन शैलीमा अर्की एक महिलाले केहि कुरा बताईरहेकी थिईन जसलाई त्यहाँ राखिएका कुर्चीमा बसेर दर्शकहरुले सुनिरहेका थिए ।
उद्यानको एक कुनामा राखिएको रबिन्द्रनाथ टैगोरको अर्धकदको शालिक छेउ बसेर हामीले केहि फोटो खिच्यौं ।

यहि घरका कारण पुरै शहरभरि जताततै पर्यटकहरुको घुइंचो देखिन्छ । आन्तरिक भन्दा पनि बाह्य पर्यटकको चाप बढी हो कि जस्तो लाग्यो यस ठाउंमा । यस्तो लाग्छ यहि घर हेर्न आउने पर्यटकहरुका कारण मात्रै शहरको चहलपहल र यहाँका बासिन्दाको रोजगारी चलेको छ । नजिकैको एभन नदी र संगैको पार्क वरिपरी पर्यटकहरुको घुइंचो देखिन्थ्यो ।
शेक्सपियरको जन्मस्थलका कारणले मात्रै नभएर युरोपको सबैभन्दा ठुलो बटरफ्लाई फर्मकालागि पनि यो ठाउँ प्रसिद्ध छ भन्ने सुनियो तर गैरआवासीय नेपाली संघ युकेले फार्नबोरोमा साँझ आयोजना गरेको स्वागत कार्यक्रममा समयमै पुग्नुपर्ने भएकोले हामी त्यतातिर भने जान सकेनौं ।

शेक्सपियरको जन्म घरलाई यहाँ तिर्थस्थलका रुपमा संरक्षण गरेर राखिएको छ । कुनै दिन नेपाली साहित्यका मुर्धन्य व्यक्तिहरुसंग जोडिएका स्थान/भवनहरु पनि यसै गरी संरक्षण गरिने छन् भन्ने कल्पना गर्दै स्ट्राटफोर्डबाट हामी प्रस्थान गर्यौं ।
(यस भ्रमणको ब्यबस्थापन गर्नु हुने मित्र चिरन्जीवी ढकाल र यात्रामा साथ दिने मित्रहरु डा. हेमराज शर्मा,कुमार पन्त र अर्जुन सुबेदीलाई हार्दिक आभार)

(जीवा लामिछानेको फेसबुकबाट साभार)