७ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रिपरिषद् बैठक आज पनि नबस्ने, विशेष कारण भन्दै भोलिका लागि सारियो

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७३, आईतवार ०९:१८

काठमाडौं । उपप्रधानमन्त्रीको वरियताक्रमको विवाद र नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषय टुङ्गो नलागेपछि मन्त्रिपरिषद्को बैठक फेरि स्थगित गरिएको छ । यस अघिका बैठक पटक–पटक तोक्दै, सार्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले आजको बैठक पनि ‘विशेष कारणबस’ भन्दै सारेका हुन् ।
नियमित रुपमा सोमबार र बिहीबार बस्दै आएको बैठक प्रधानमन्त्रीले आज दिउँसो ३ बजेका लागि बोलाएका थियो । राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा ल्याएपछि उनलाई चौथो हैसियतमै राखेर मन्त्रिपरिषद् बैठक राखेका प्रधानमन्त्रीले निधिलाई एकाएक तेस्रो हैसियतमा पुर्‍याएपछि चैत ३ गतेपछि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन ।
बैठक बस्न नसक्दा मन्त्रिपरिषद्ले नियुक्त गरेको प्रहरी महानिरीक्षक सर्वोच्च अदालतले बदर गरेकाले अर्को नियुक्ति प्रक्रिया समेत अवरुद्ध बनेको छ । आजको बैठकले संसदमा विचाराधीन रहेको संविधान संशोधन विधेयक फिर्ता लिई अर्को प्रस्ताव लैजाने निर्णय गर्ने बताइएको थियो ।