१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्री निधिको राजीनामा खल्तीमै, भोलिको मन्त्रिपरिषद् बैठकमा निस्कने !

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७३, आईतवार १५:५१

काठमाडौं । नेपाली कांगे्रसको तर्फबाट प्रतिनिधित्व गरेर सरकारमा गएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि वरियता नमिलेपछि आज आइतबारका लागि तय भएको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाउने तयारीमा थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री निधिको राजीनामा रोकिदिए । सभापति देउवाले टेलिफोन गरेर मन्त्री निधिलाई राजीनामा नबुझाउन निर्देशन दिएपछि उनको राजीनामा आज खल्तीमै रह्यो ।
नेपाली कांग्रेसले कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जानुअघि पार्टी सभापति देउवाले मन्त्री निधिलाई फोन गरेर राजीनामा नबुझाउन भनेका थिए । पार्टी सभापतिको उक्त निर्देशनलाई आत्मसात गर्दै मन्त्री निधिले राजीनामा बुझाएनन । राजीनामा नबुझाए पनि उनी प्रधानमन्त्री दाहालले निवासमा बोलाएको मन्त्रिपरिषद्को बैठकमा गएनन । मन्त्री निधि मन्त्रिपरिषद्को बैठकमा नआउने संकेत पाएपछि प्रधानमन्त्री दाहालले बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरे ।

वरियता विवाद अन्त्य होला ?
प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेस पार्टी सभापति देउवा कमल थापालाई पहिलो वरियतामा राख्न सहमत भइसकेका छन् । उनीहरु दुवै आज रातभरिमा निधिलाई मनाउने र भोलि मन्त्रिपरिषद्को बैठक बसाउने कसरतमा लागेका छन् । यता केन्द्रीय सदस्य तथा संसदको बैठकबाट हौसियएर मन्त्री निधि पहिलो वरियता नपाए राजीनामा दिने मुड बनाएर राजीनामा खल्तीमा बोकेर हिडेका छन् । केन्द्रीय सदस्य संसदीय दलको बैठकमा बोल्ने २८ जनाले ठूलो पार्टी हुनुको नाताले कांग्रेसलाई पहिलो वरियतामा राख्नुपर्ने धारणा राखेपछि मन्त्री निधि हौसिएका हुन् ।

निधिको राजीनामा आउँछ ?
पार्टी सभापतिको निर्देशनअनुसार मन्त्री निधि चले भने उनको राजीनामा खल्तीमै रहन सक्ने बताइएको छ । पार्टी सभापति देउवाको निर्देशन विपरित उनको राजीनामा आए उनको राजनीतिक भविष्य के हुन्छ भन्ने विश्लेषण पनि गरिएको छ । यो बेलामा वरियता विवादभन्दा पनि स्थानीय तहको निर्वाचनमा पार्टी होमिनुपर्ने भएकाले राजीनामाले पब्लिकमा राम्रो म्यासेज नजाने निष्कर्ष पार्टी सभापति देउवाले निकालेको बुझिएको छ । त्यसैले मन्त्री निधिले राजीनामा दिने सम्भावना न्यून रहेको एकथरिको बुझाइ छ । यो बेलामा मन्त्री निधिले राजीनामा दिए स्थानीय तहको निर्वाचन माहोल लथालिङ हुने विश्लेषण गरिएको छ । यदि मन्त्री निधिको राजीनामा आए कांग्रेसका तराईमूलका सांसदहरु नै बिच्किने सम्भावना छ । स्थानीय तहको निर्वाचन हुन नदिने शक्तिबाट मन्त्री निधि प्रेरित भए भने सम्भवतः उनले भोलिको मन्त्रिपरिषद्मा राजीनामा बुझाउन सक्ने सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् ।
– सुनयना राउत