१५ चैत्र २०८०, बिहीबार
Follow Us

हाम्रो पोशाक, चाडपर्वबारे छोराछोरीले सोध्ने प्रश्नहरुको जवाफ तयार गरौं

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार ०६:५५

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर क्षेत्रीले जिन्दगीका दुखसुख, आरोह अवरोहहरु सबै एकै ठाउँमा बाँडन नेपाली समुदायले मनाउने उत्सवहरुको निकै महत्व रहने बताउनुभएको छ। सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स (एसएनपी) युकेले नयाँ वर्ष २०७४ को अवसरमा दक्षिण पूर्वी लण्डनस्थित वेलिङमा शनिबार आयोजित समारोहमा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो।
उहाँले डा. बच्चुकैलाश कैनीले लेख्नु भएको एक कवितामा छोराले आफ्ना बुवालाई हामी बेलायती हौं कि नेपाली? भनी प्रश्न गरेको स्मरण गर्दै अब त्यस्ता प्रश्नहरुको साथै हाम्रो पोशाक, हाम्रा चाडपर्व आदिबारे हाम्रा छोराछोरीले सोध्ने प्रश्नहरुको जवाफ तयार पारेर राख्नुीपर्ने सुझाव पनि दिनुभयो।
सो अवसरमा राजदूत सुवेदीले सोसाइटीको पहिलो मुखपत्रको अनावरण गर्नुकासाथै साहित्यकार धर्म सापकोटा राजुद्वारा लिखित कथा संग्रह “बहिर्गमन” को विमोचन पनि गर्नुभएको थियो। कथाका। सापकोटाले सो पुस्तकको बिक्रीबाट प्राप्त रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्ने घोषणा गर्नुभएको थियो।
सोसाइटीका अध्यक्ष डा. तेजेन्द्र फेरालीले बेलायतमा हुर्कीरहेको नेपाली नयाँ पुस्ताको भविष्य र नेपालसँगको सम्बन्ध तथा अहिलेको पुस्ताको वृद्धावस्थाको जीवनशैली बारे छलफल गर्नुपर्ने समय आइसकेको बताउनुभयो। नेपाली साँस्कृतिक पहिचानलाई जोगाउदै बेलायती समाजको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सफलता हासिल गर्दै लैजानेतर्फ अहिलेदेखि नै सोंच्न सोसाइटीका सदस्यहरु तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुलाई फेरालीले आह्वान गर्नुभयो। उहाँले बेलायतमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली पेशेवरहरुलाई समेटेर विधागतरुपमा “नलेज बैङ्क” स्थापना गर्नसके त्यसबाट नेपालको विकासमा योगदान पुग्ने धारणा पनि राख्नुाभयो।
समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष नारायण भट्टराईले पहिले ‘हाइली स्कील्ड माइग्रेन्ट’ कार्यक्रममा बेलायत आएका नेपालीहरुमात्रै सदस्य रहेकोमा अहिले सबै पेशा र व्यवसायमा संलग्न नेपालीहरुकालागि सोसाइटीको ढोका खुल्ला रहेको बताउनुभयो।
अर्का सल्लाहकार भगीरथ योगीले बेलायतमा सिकेको सीप र अनुभव नेपालको विकासमा लगाउन सोसाइटीका सदस्यहरुलाई आग्रह गर्नुभयो।
कार्यक्रममा जीसीएसइ, ए लेभेल तथा विश्वविद्यालयस्तरबाट पढाइ पुरा गरेको सोसाइटीका सदस्यहरुका छोराछोरीलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। त्यस्तै सोसाइटीद्वारा आयोजित देउसी भैलो लगायत विभिन्न कार्यक्रमहरुमा सघाउने सहयोगी तथा शुभेच्छुकहरुलाई पनि सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।
सो अवसरमा राजदूत डा. सुवेदी तथा सोसाइटीका अध्यक्ष डा. फेरालीले संयुक्तरुपमा केक काटी सबैलाई नेपाली नयाँ वर्षको उपलक्ष्यमा सुस्वास्थ्य, सुख तथा समुन्नतिको शुभकामना दिनुभएको थियो। कार्यक्रममा महामहिम राजदूतकी धर्मपत्नी पूनम राज्यलक्ष्मी सुवेदी पनि सहभागी हुनुहुन्थ्यो। समारोहको दोश्रो चरणमा सन्चालित सांस्कृतिक कार्यक्रममा विभिन्न कविहरुले आआफ्ना रचनाहरु पाठ गर्नुभएको थियो भने बालबालिकाहरुले रमाइला गीत र नृत्य प्रस्तुत गरेका थिए।
image-1