बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ ।

विदेशमन्त्री जोनसन सोमबार मस्को भ्रमणका लागि जानुहुने कार्यक्रम तय भएको थियो । उहाँले अमेरिकी तथा अन्य अधिकारीसँग सम्पर्क गर्नु र अप्रिल १०–११ मा जीसेभेनको बैठक गराउनु उहाँको प्राथमिकता भएको बताउनुभयो ।

उहाँले सिरियामा असादको सरकारले निरपराध नागरिकमाथि रासायनिक हतियार प्रयोग गर्दा पनि निरन्तर समर्थन गरेको भनी रसियाको आलोचना गर्नुभयो ।

उहाँले शुक्रबार अमेरिकाले सिरियाको होम्स नजिकै सिरियाली सैनिक क्षेत्रमा ५९ वटा टमाहक क्रुज क्षेप्यास्त्र प्रहार गरेकोमा समर्थन जानाउनुभएको छ ।

सिरियाको खान सेखुन नगरमा भएको रासायनिक आक्रमणमा ८६ व्यक्तिको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । रासस/एएफपी