१२ बैशाख २०८१, बुधबार
Follow Us

एमालेले किन माग्यो गृहमन्त्री निधिको राजीनामा

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार १५:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको राजिनामा मागेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद रेवतीरमण भण्डारीले प्रधानमन्त्रीय प्रणालीमा ‘क्याबिनेट’मा जान्न भन्ने मन्त्रीलाई पदमा बस्ने अधिकार नहुने भन्दै निधिलाई राजिनामा गर्न सुझाव दिएका हुन् । उनले प्रहरी प्रमुख नियुक्त गर्न नसक्ने सरकारले निर्वाचनमा कसरी सुरक्षा दिन्छ ? भन्ने प्रश्नसमेत गरे ।
यसअघि एमालेबाटै प्रतिनिधित्व गर्ने सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाका कार्यकर्ता नसुध्रिए आफूहरु पनि कानून हातमा लिन बाध्य हुने चेतावनी दिएका थिए । आफ्नो घर पुगेका मोर्चाका कार्यकर्ताले श्रीमति र बुहारीलाई लछार–पछार गरेको भन्दै उनले मधेसी मोर्चाको उदण्डतालाई सरकारले नै संरक्षण गरिरहेको आरोप पनि लगाए ।
यसैगरी, राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्ने सांसद चित्रबहादुर केसीले संसद बैठक लम्ब्याएकोमा असन्तुष्टि जनाए । सरकारले संसदलाई एजेण्डाविहीन बनाएर निर्वाचनको प्रचार–प्रसारमा लाग्नुपर्ने सांसदलाई अलमल्याइ रहेको उनको भनाइ थियो । बैठकको विशेष समयमा बोलेका सांसदहरुले सदनमा उठेका विषयप्रति गम्भीर नभएको, बरियता विवादले मन्त्रिपरिषद् बैठक नै नबस्ने हाँस्यास्पद अवस्था आएको र प्रहरी महानिरीक्षक नियुक्ति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

मोर्चा वहिष्कार
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलले संसद बैठक बहिस्कारलाई निरन्तरता दिएका छन् । संविधान संशोधन प्रक्रिया कार्यसूचीमा नपरेको भन्दै उनीहरु अघिल्ला झै आजको बैठकमा पनि सहभागि नभएका हुन् । बैठकको सुरुमै सांसद गोपाल दहितले संविधान संशोधनमा जालझेल भइरहेको भन्दै टुङ्गोमा नपु¥याएसम्म बैठकमा सहभागी नहुने स्पष्ट पारेका थिए । सांसद दहितले धारणा राखेलगतै मोर्चामा आवद्ध दलका सांसद नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।