१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रवासबाट गाउँको विद्यालयलाई २० कम्प्युटर सहयोग

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार ०७:००

लमजुङ । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम सङ्कलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन चिलवालले बताउनुभयो । विदेशमा भएर पनि समाजका लागि केही गरौँ भन्ने अभिप्रायले विद्यालयलाई कम्प्युटर सहयोग गरेको चिलवालले बताउनुभयो ।
“अहिले सूचना र प्रविधिको प्रयोग बढेको छ,” चिलवालले भन्नुभयो – “गाउँमा पढ्ने विद्यार्थीले कम्प्युटर सिक्नकै लागि गाउँ छाड्न नपरोस् ।” विद्यालयमा उपलब्ध कम्प्युटरबाट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई समेत अतिरिक्त समयमा आधारभूत कम्प्युटर शिक्षा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक बुद्धराज सेढाईंले बताउनुभएको छ ।