११ बैशाख २०८१, मंगलवार
Follow Us

सिलवाल पुनः अदालतमा, सर्वोच्चमा दोस्रो रिट दर्ता

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार १०:४६

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले सर्वोच्च अदालतमा दोस्रो रिट दर्ता गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्ति बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखी उनले आज रिट दर्ता गराएका हुन् । सरकारले हिजो अर्याललाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
सिलवालले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् । यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेकामा तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुनः नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।
त्यतिबेला चन्दलाई वरीयता क्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । साथै अधिवक्ता कपिलदेव ढकाल पनि अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ताको तयारीमा रहेको बताइएको छ ।