१५ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार १४:४८

काठमाडौं । सरकारले संविधानको नयाँ संशोधन विधेयक आज व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसद्मा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । आज दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।

सबैको सहमतिमा नयाँ प्रस्ताव : कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले सरकारले ल्याएको संविधान संशोधन नयाँ प्रस्ताव सबैको सहमति पारित हुने दाबी गर्नुभएको छ । रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उहाँले नयाँ संशोधन प्रस्ताव एमाले र मधेसी मोर्चा दुवैको सहमतिमा ल्याइएकाले जिकिर गर्नुभयो ।
“पुरानो संशोधन प्रस्ताव फिर्ता भएको छ । नयाँ प्रस्ताव वैशाख ७ गते संसद्मा टेबल हुनेछ । प्रस्तावबारे मधेसी मोर्चासँग पनि ठोस सहमति भएको छ । उहाँहरुका सबै मागको सम्बोधन हुनेछ”– मन्त्री नायकले भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले सरकारले ल्याएको नयाँ संशोधन प्रस्ताव पहिलेकोभन्दा पनि खतरापूर्ण भएको आरोप लगाउनुभयो । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले सरकारले मोर्चासँग छलफल नगरिकनै पहिले पेस भएकोे प्रस्ताव फिर्ता लिई नयाँ प्रस्ताव ल्याउन लागेको बताउनुभयो ।