१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्याग्दीका स्थानीय तहमा यस्ता छन् उम्मेदवारका आकाङ्क्षी

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७३, बुधबार १२:४८

बाबियाचौर । म्याग्दीका राजनीतिक दलले २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको तयारी तीव्र बनाएका छन् । उम्मेदवार हुन आकाङ्क्षीको दौडधुप बढेसंगै वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलले जनाएका छन् । नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानिया, रुद्रबहादुर केसी र बिमला गौचन आकाङ्क्षी हुनुहुन्छ ।

नेकपा (एमाले)बाट प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरत केसी, राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ । नेकपा (माओवादी केन्द्र)मा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, शेरबहादुर केसी, ज्योति लामिछाने र राप्रपाबाट एकेन्द्र रावल नगर प्रमुखको उम्मेदवार बन्न आकाङ्क्षी देखिएका छन् ।

नेपाली काँग्रेसको गाउँपालिका समन्वय समितिले डमबहादुर पुनलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र कृष्णप्रसाद बरुवाललाई ६ नं वडाको अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेर प्रचारप्रसार सुरु गरिसकेको छ ।

नेकपा (एमाले)बाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न भरत पुन, नारायण पुन, श्याम राना र तेजबहादुर गुरुङ आकाङ्क्षी देखिएका छन् । अन्नपूर्णको ६ नं मा एमालेको वडा कमिटीले गोकुल बरुवाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।