१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कारण देखाउन सर्वोच्चको आदेश

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७३, बुधबार १५:०७

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक पदमा प्रकाश अर्याललाई बढुवा गर्नुको कारण अगामी वैशाख १५ गतेभित्र लिखित रुपमा जवाफ पेस गर्न सरकारका नाममा आज कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो आदेश दिएको हो । सो रिटको सुनवाई आगामी वैशाख १९ गतेको पूर्ण इजलासमा हुने आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सरकारले गैरकानुनी रूपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको भन्दै आफूलाई महानिरीक्षक बनाउन माग गरेर मङ्गलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
निवेदनमा सिलवालले आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को सोमबारको निर्णय बदर गरी प्रहरी महानिरीक्षक बनाउन माग गरेका छन् । चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ अङ्क र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पन्न र मूल्याङ्कनमा अगाडि भएको सिलवालको रिट निवेदनमा उल्लेख गरिएको छ ।
यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराई आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले रिट दायर गर्नुभएकोमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो । सर्वोच्चले दोस्रो वरियता ठहर गरेका अर्याललाई मन्त्रिपरिषद्को बैठकले सोमबार प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि सिलवालले सर्वोच्च अदालतमा पुनः रिट निवेदन दायर गर्नुभएको हो ।