१६ चैत्र २०८०, शुक्रबार
Follow Us

स्थानीय तह निर्वाचनमा ६३ वटा दल

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १२:०५

काठमाडौं । स्थानीय तह निर्वाचनमा ६३ वटा दलले मात्रै सहभागिता जनाउन पाउने भएका छन् । निर्वाचन आयोगमा पार्टीका तर्फबाट उम्मेदबार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना ६३ दलले मात्रै बुझाएकाले उनीहरुको मात्रै निर्वाचनमा सहभागिता निश्चित भएको हो ।
७९ वटा दललाई चुनावमा भाग लिन स्वीकृती दिएपनि १६ वटा दलले उम्मेदबार सिफारिस गर्ने आधिकारिक हस्ताक्षर नबुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्राय ठुला दल सबैले आधिकारिक हस्ताक्षर बुझाएका छन् । मधेस केन्दित दलमध्ये संघीय समाजवादी फोरम नेपाल बाहेकले हस्ताक्षर बुझाएका छैनन् । आयोगमा हस्ताक्षर नमुना नबुझाएका दलले निर्वाचनमा दलगत रुपमा भाग लिन नपाउने तर स्वतन्त्र उम्मेद्वारको रुपमा भने सहभागिता जनाउन सक्ने आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐनमा राजनीतिक दलबाट उम्मेद्ववारी दर्ता गराउनेले मनोनयनका बेला पार्टीको आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले पार्टीले दिने पत्रमा कसको हस्ताक्षर हुने हो उसको नाम र हस्ताक्षर बुधबारसम्म बुझाउन भनेको थियो ।