७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा बन्ने भयो नेपाली मन्दिर

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७४, शुक्रबार १९:५३

बेलायतको राजधानी लण्डनमा भव्य पूजा र धार्मिक कार्यक्रम गरी नेपाली नयाँ वर्ष मनाइएको छ ।
बेलायतस्थित नेपाली समुदायको सघन उपस्थिति रहेको उक्त कार्यक्रममा छिटै नेपाली मन्दिर स्थापना गर्ने उद्घोष गरियो ।

लण्डनको साउथहलस्थित हिन्दू मन्दिरमा बेलायतस्थित सम्पूर्ण पुरोहितहरूको सहभागितामा आयोजित विश्वशान्ति सत्यनारायण पूजामा बेलायतका निम्ति नेपाली राजदूत सपरिवार उपस्थित हुनुहुन्थ्यो ।
एनआरएन युरोपका संयोजक कुल आचार्य, एनआरएन यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, वरिष्ठ समाजसेवी ध्रुव केसी, रूपक केसी तथा सामाजिक अभियन्ता रविजङ्ग लामिछानेलगायतले उक्त पूजामा यजमानका रूपमा सहभागी हुँदै बढ्दो नेपाली समुदायको धार्मिक सांस्कृतिक आवश्यकता पूरा गर्न नेपाली मन्दिर आवश्यक रहेको बताए । नेपाली मन्दिरको स्थापनाका निम्ति आफूहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको उपस्थित समाजका अगुवाहरूको प्रतिबद्धता व्यक्त भएको थियो ।
विश्वहिन्दू महासंघ यूकेका अध्यक्ष चिरन्जीवी ढकालको संयोजनमा आयोजित उक्त कार्यक्रममा आचार्य दुर्गाप्रसाद पोख्रेल,आचार्य नारायण गाउँले, आचार्य शेखर शाण्डिल्य तथा पण्डित गोविन्द नेपालले संयुक्त रूपमा पूजा संचालन गर्नुभएको थियो । आचार्य दुर्गाप्रसाद पोख्रेलले नयाँ वर्षको शास्त्रीय, वैज्ञानिक र सांस्कृतिक महत्त्वबारे सटीक प्रकाश पार्नुभएको थियो । पण्डित गोविन्द नेपालले कथावाचन गर्नुभयो ।
समाजसेवी कृष्ण भट्ट, दधि आचार्य, होमनाथ पौडेललगायतले कार्यक्रममा स्वयंसेवीको भूमिका निभाउनुभएको थियो ।

पूजाबाट उठेको रकमलाई सीडमनिका रूपमा राखेर मन्दिर निर्माणको योजना अगाडि बढाइने आयोजक समितिका सदस्य आचार्य शेखर शाण्डिल्यले बताउनुभयो ।
बेलायतमा बसोबास गर्ने प्रायः सबै पण्डित पुरोहितको सहभागिता रहेको यस्तो कार्यकम पहिलो भएको उपस्थित धेरैको प्रतिक्रिया थियो ।