१३ बैशाख २०८१, बिहीबार
Follow Us

पशुपति वैदिक आश्रमलाई कोलकाताबाट आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार ०५:५२

काठमाडौं । भारतेन्दु नेत्रही आश्रम(कोलकाता) र पशुपति वैदिक आश्रम ट्रस्ट (नेपाल)को सहयोगमा दिलीप थापा डान्स स्कुल र रवीन दास हेयर ब्युटी एकाडमीको आयोजनामा मिनी सुपरस्टार २०१७ सांस्कृतिक समारोह भारत कोलकता हावडामा सम्पन्न भएको छ ।
समारोहको उद्घाटन पत्रकार आनन्द पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा ९० छात्रछात्राले मिनी सुपरस्टार उपाधि पाएका थिए । कोलकातास्थित महावाणिज्यदूत एकनारायण अर्यालले भारतीयलगायत नेपालीहरुलाई नृत्य प्रशिक्षणमा दिएको योगदानप्रति नेपालका नृत्य प्रशिक्षक दिलीप थापाको सराहना गर्नुभयो ।
सो अवसरमा समाजसेवी अशोक शर्मा, नरेश अग्रवाल, लक्ष्मण खड्का, नन्दजीप्रसाद र विकास अग्रवालबाट सङ्कलित सहायता रकममध्ये दुई आश्रमलाई क्रमशः भारु १५ हजार र ११ हजार प्रदान गरियो । कार्यक्रममा विभिन्न संस्थाका प्रतिभाहरुले लोकगीत र नृत्य प्रस्तुत गरेका थिए ।
वैदिक आश्रमअन्तर्गत पशुपति साङ्गवेद आवासीय संस्कृत मावि, नवलपरासी, देवचुली–१५, प्रगतिनगरमा एक सय वटुकहरु अध्ययन गरिरहेका छन् । विभिन्न दाताले गरेको सहयोगबाट विद्यार्थीहरु(६–८कक्षा)अध्ययन गरिरहेको आश्रमका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो । आश्रममा अध्ययन गर्न विद्यार्थीहरुको आकर्षण बढिरहेकाले कोठाहरु थप गर्नका लागि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद डा शशाङ्क कोइरालाले सांसद विकास कोषबाट रु १२ लाख प्रदान गर्नुभएको छ ।
बयानब्बेवर्षीय श्रोत्रीय ब्रह्मनिष्ठ श्री १०८ स्वामी सच्चिदानन्द पुरी महाराजजीले सो आश्रम र गुरुकुल स्थापना गर्नुभएको हो ।