११ बैशाख २०८१, मंगलवार
Follow Us

बराल र मगरलाई पत्रकारिता पुरस्कार

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार ०६:०१

बाग्लुङ । नेपाल पत्रकार महासङ्घ बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट प्रकाश बराल र दिलनिशानी मगर पुरस्कृत हुनुभएको छ । शुक्रबार यहाँ आयोजित समारोहमा समाचार लेखनतर्फ कान्तिपुर दैनिकका संवाददाता बराल र स्तम्भ लेखनतर्फ लेखक मगरलाई जनही रु १५ हजार राशिसहितको पुरस्कार प्रदान गरिएको हो । प्रजिअ भागीरथ पाण्डेय, पुरस्कार कोषका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठ र पत्रकार महासङ्घका केन्द्रीय सदस्य हरिनारायण गौतमले पुरस्कृतद्वयलाई संयुक्त रुपमा प्रमाणपत्र, नगद र दोसल्ला प्रदान गर्नुभएको थियो ।
बागलुङ नगरपालिका–२ निवासी तीर्थप्रसाद श्रेष्ठ र उहाँका चार भाइ मिलेर गत वर्ष स्थापना गर्नुभएको हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषबाट पहिलो पटक उहाँहरुलाई पुरस्कृत गरिएको हो ।
अबदेखि हरेक वर्ष दुवै विधामा पुरस्कार प्रदान गरिने पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरिषले जानकारी दिनुभयो । रु चार लाखको कोषको ब्याजबाट प्राप्त हुने रकम पुरस्कारबाहेक पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिममा समेत खर्च गरिने छ । श्रेष्ठ दाजुभाइको परिवारले आफ्ना दिवङ्गत मातापिताका स्मृतिमा कोष स्थापना गर्नुभएको हो । पत्रकारिता क्षेत्रको विकास र पत्रकारलाई उत्प्रेरित गर्न कोष खडा गरिएको कोषका अध्यक्ष तीर्थप्रसादले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य हरिनारायण गौतमले पत्रकारिता पुरस्कार स्थापना गरेर श्रेष्ठ परिवारले सह्रानीय कार्य गरेको तथा पुरस्कारले पत्रकारिता पेसाको गरिमा र ओज बढ्ने बताउनुभयो । प्रजिअ पाण्डेयले जनस्तरबाट पत्रकारिता पुरस्कार स्थापना हुनु सह्रानीय छ भन्नुभयो ।