१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रवासीद्वारा रु. एक करोडको अक्षयकोष स्थापना

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार १०:२२

बागलुङ । रोजगारीका क्रममा जापान पुगेका काठेखोला गाउँपालिका– ५ र ६ बिहुँकोटका बासिन्दाले गाउँमा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक कार्यमा सघाउने उद्देश्यले सो कोषको स्थापना गरिएको हो । काठेखोला गाउँपालिका– ५ मा शुक्रवार आयोजित एक कार्यक्रमबीच उक्त कोषको घोषणा गरिएको बिहुँकोट समाज जापानका अध्यक्ष देवीलाल सुवेदीले जानकारी दिनुभयो ।
सो अवसरमा अध्यक्ष सुवेदीले जापान समाज बिहुँकोटका अध्यक्ष गौरीशङ्कर शर्मालाई रु एक करोड बराबरको ‘चेक’ हस्तान्तरण गर्नुभयो । जापानमा रहेका बिहुँकोटबासीबाट आर्थिक सहयोग जुटाएर सो कोष स्थापना गरिएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
“शिक्षा, स्वास्थ्यलगायत सामाजिक कार्यमा सघाउ पु-याउन कोष स्थापना गरिएको हो’ अध्यक्ष सुवेदीले भन्नुभयो,” “जापानमा रहेका सबै बिहुँकोटवासीको यसमा ठूलो योगदान छ ।”
बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताउनुभयो । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ । ‘बिहुँकोट क्षेत्रको विकासका लागि कोष रकम परिचालित हुन्छ’ अध्यक्ष शर्माले भन्नुभयो ‘शिक्षा, स्वास्थ्य र भइपरी आउने विपद् व्यवस्थापनमा पनि सहयोग गर्ने योजना छ ।’
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले प्रवासमा रहेर पनि आफ्नो गाउँको विकासमा सक्रिय रहनु प्रशंसनीय कार्यभएको बताउनुभयो । ‘आफ्नो जन्म गाउँ र स्वेदशको विकासमा लागि प्रवासमा रहेका नेपालीको ठूलो देन छ’ उहाँले भन्नुभयो “यस्ता कल्याणकारी सामाजिक कार्यको सबै क्षेत्रले अनुसरण गर्नु आवश्यक छ ।”