१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्वाचन दश दिन पछि सार्न कांग्रेस जिल्ला सभापतिहरुको सुझाव

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार १६:२८

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश नम्बर दुईका जिल्ला सभापतिहरुले मधेसी मोर्चालाई सहमतिमा ल्याएर मात्र स्थानीय तहको निर्वाचन गर्न नेतृत्वलाई सुझाब दिएका छन् । पार्टी कार्यालय सानेपामा आज जिल्ला सभापति, केन्द्रीय सदस्य र सांसदसँगको सामुहिक छलफलमा मधेसी मोर्चालाई पनि स्थानीय निर्वाचनमा समेट्न नेतृत्वलाई सुझाव दिएका हुन् । उनीहरुले बैशाख ३१ का लागि निर्धारण गरिएको निर्वाचन दश दिन पछि सारेर भएपनि मधेस केन्द्रित दल सहितको सहभागितामा निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलमा सिराहा बाहेक ७ जना जिल्ला सभापतिले जिल्लामा निर्वाचनको माहोल तयार हुँदै गएपनि आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन नभएकाले निर्वाचन हुनेमा बिश्वस्त हुन नसकेको बताएका थिए ।

निर्वाचनको मिति सर्दैन: माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ । प्रेस सेन्टर, चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई धु्रवमा रहेका राजनीतिक शक्तिलाई मूलधारमा ल्याई सरकारले निर्वाचनको तयारी गरेकाले तोकिएकै मितिमा निचन सम्पन्न हुने बताउनुभयो । एमालेले चर्को कुरा गरेर मधेसी मोर्चालाई भड्काउन खोजेको नेता शर्माको आरोप थियो । “अतिवादी सोच बोकेका समूहले स्थानीय तहको निर्वाचन चाहेका छैनन्, त्यस्ता शक्तिलाई परास्त गरेर निर्वाचन सम्पन्न गर्न सरकार तयार छ,” उहाँले भन्नुभयो । मधेसी मोर्चाको भावना समेट्ने गरी सरकारले संविधान संशोधनको नयाँ विधेयक संसद्मा दर्ता गरेकाले मोर्चा पनि निर्वाचनमा सहभागी हुने शर्माको भनाइ थियो ।