८ बैशाख २०८१, शनिबार
Follow Us

मोर्चाद्वारा आन्दोलन घोषणा, वैशाख २७ देखि अनिश्चितकालीन नेपाल बन्द

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार ०९:१४

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । मधेसी मार्चा र गठबन्धनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका गतिविधिमा अबरोध पुर्‍याउने उद्देश्यसहित वैशाख २७ गतेदेखि आमहड्ताल र अनिश्चितकालीन नेपाल बन्दसहितका आन्दोलन कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अन्दोलनरत दलहरुले विभिन्न जिल्ला सदरमुकाममा वैशाख ५ गतेदेखि नै मसाल जुलुस, लाठी जुलुस, सभा, मतदान केन्द्र लक्षित लाठी जुलुस प्रदर्शन गरिने जनाएका छन् । २७ गतेदेखि भने देशव्यापी अनिश्चितकालिन हड्ताल गरिने गठबन्धनका प्रवक्ता ओम गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधन गरी आफ्ना माग पूरा नभएसम्म निर्वाचन हुनै नदिने अडानमा रहेको मोर्चा र गठबन्धनले बैशाख ३१ लाई निर्धारित चुनाव लक्षित गरी आन्दोलनका कार्यक्रम ल्याएका हुन् । जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आन्दोलन गर्नुपरेको ती दलले प्रस्ट पारेका छन् । मोर्चाकै माग सम्बोधन गर्न भन्दै सरकारले पुरानो संशोधन विधेयक फिर्ता लिएर संसदमा संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता गरेपनि त्यसलाई अस्वीकार गर्दै मोर्चा र गठबन्धन आन्दोलनमा उत्रिएको हो ।