७ बैशाख २०८१, शुक्रबार
Follow Us

बसाइ लम्बियो भने तत्काल खबर गर्न भूपू गोर्खाहरुलाई सुझाव

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार ०६:०३

लन्डन । ब्रिटिश सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकहरुलाई सघाउन स्थापित गोर्खा कल्याणकारी परामर्श केन्द्रहरुले आइएलआर/आइएलइ भिसा लिएर बसीरहेका भूतपूर्व गोर्खा सैनिकहरुलाई नेपाल गएको बेला कुनै कारणले बसाई लम्बिएमा तत्काल बेलायतमा संबन्धित निकायलाई खबर गर्न सल्लाह दिएका छन्।
गत शनिबार बर्न्टओकस्थित टेरिटोरियल आर्मीको कार्यालयमा भूतपूर्व गोर्खा सैनिकहरु तथा तिनका परिवारजनसंग अन्तरकृया गर्दै गोर्खा वेलफेयर ट्रष्टका वेलफेयर अफिसर (रिटायर्ड) क्याप्टेन ग्यारी घलेले ब्रिटेनको स्थायी आवासीय अनुमति पाएका भूतपूर्व गोर्खा सैनिकहरुले आइएलआर भिसा लिएर प्रत्येक दुई वर्षमा भिसा नवीकरण गर्नकालागि मात्रै युके आउनु ब्रिटिश सरकारको नियमको उल्लंघन भएकाले ब्रिटिश इमिग्रेशन अधिकृतहरुले त्यस्ता व्यक्तिहरुप्रति कडा रवैया अपनाइरहेको बताउनुभयो।

उहाँले ब्रिटेनको नियमअनुसार पेन्सन क्रेडिट पाउने भूतपूर्व गोर्खा सैनिकहरुले २८ दिनमात्र बेलायतबाहिर बिताउन पाउने भएकाले कुनै कारणवश बसाइ लम्बिएमा कारणसमेत खुलाई ब्रिटिश सरकारको डिपार्टमेन्ट फर वर्क एण्ड पेन्सन्स (डिडब्लुपि) को पेन्सन अफिसलाई फोन गरेर जानकारी दिनुपर्ने बताउनुभयो। नेपाल वा अन्य कुनै पनि तेश्रो मुलुक जानु अघि र फर्के पछि पनि फोन गर्नुपर्ने उहाँले बताउनुभयो।
अहिलेको नियम अनुसार ब्रिटेन बाहिर गएको बेला दुर्भाग्यवश श्रीमान वा श्रीमतीको मृत्यु भयो भने आठ हप्तासम्म बस्न पाइन्छ। त्यस्तै नेपाल वा अन्य कुनै मुलुक गएको बेला सिकिस्त बिरामी भएमा २६ हप्तासम्म बस्न पाइन्छ, तर फर्कँदा चिकित्सकको पत्र र अन्य कागजातहरु संगै ल्याउनुपर्छ।

क्याप्टेन घलेले त्यसो नगर्दा डिडब्लुपिले भूतपूर्व गोर्खा सैनिकहरुले पाउने भत्ता रोकीदिनसक्ने तथा लामो समयसम्म बेलायतबाहिर बसेमा भत्ता कटौती पनि गरीदिनसक्ने बताउनुभयो। त्यसोभयो भने बेनिफिट पाउन फेरि निवेदन दिनुपर्ने हुन्छ। २८ दिनभन्दा बढी नेपालमा बस्नुपर्ने भए कारण खुलाउनुका साथै त्यससंबन्धी कागजातहरु संलग्न गरेर आफ्नो डिडब्लुपि पेन्सन अफिसलाई जानकारी दिन पनि उहाँले सुझाव दिनुभयो।
आफु बसीरहेको ठेगाना परिवर्तन भएमा वा आफ्नो आयस्रोत तल, माथि भएमा बैंक, जीपी र डिडब्लुपि लाई तत्काल जानकारी दिन पनि उहाँले सल्लाह दिनुभयो।
ब्रिटेनमा छिट्टै युनिभर्सल क्रेडिट- फुल सर्भिस भन्ने नियम प्रचलनमा आउन लागेको र यसले काम गर्ने उमेरका मानिसहरुले पाउने सबै बेनिफिटहरुलाई विस्थापित गर्ने तथा पेन्सन क्रेडिट पाउने फरक फरक उमेर समूहका दम्पतीहरुलाई पनि असर पर्ने उहाँले जानकारी दिनुभयो।

क्याप्टेन घलेले सेप्टेम्बर २०१८ देखि सबै विवरण अनलाइन भर्नुपर्ने नियम आउन लागेको जानकारी पनि दिनुभयो। त्यसो गर्न नसक्ने भूतपूर्व गोर्खा सैनिकहरुलाई सहयोग गर्न उहाँले नेपाली संघसंस्थाहरुलाई आग्रह गर्नुभयो।
बेलायत सरकारले बायोमेट्रिक रेजीडेन्स पर्मिट (बीआरपी) प्रणाली ल्याउन लागेको र त्यसले पुरानो पासपोर्टलाई प्रतिस्थापित गर्ने उहाँले जानकारी दिनुभयो। यदि पुरानो पासपोर्टमा बेलायतको भीसा लागेको छ भने त्यो पनि साथै राख्नि उहाँले सुझाव दिनुभयो। यी विषयहरुमा कुनै जिज्ञाशा भए बेलायतस्थित गोर्खा वेलफेयर एडभाइस सेन्टरहरुमा संपर्क गर्न सकिने उहाँले बताउनुभयो।
सो अवसरमा बोल्दै बर्न्टओक नेपाली समाजका सल्लाहकार लक्ष्य गुरुङले बेलायतमा भैरहेका नीतिगत परिवर्तनबाट आफुहरुलाई पर्नसक्ने असरबारे भूतपूर्व गोर्खाहरु चनाखो हुनुपर्ने बताउनुभयो। समाजका अध्यक्ष रमेश गुरुङले भूतपूर्व गोर्खाहरुको दैनिक जीवन सजीलो होस् भन्ने उद्देश्यले त्यस्तो अन्तरकुया कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले क्याप्टेन घले तथा सबै सहभागीहरुलाई धन्यवाद पनि दिनुभएको थियो।
हाल बर्न्टओकमा बर्न्टओक नेपाली समाजका संस्थापक अध्यक्ष उदयबहादुर गुरुङको संयोजकत्वमा भूतपूर्व गोर्खा सैनिकहरुकालागि विभिन्न किसिमका कक्षाहरु सन्चालन भैरहेका छन्।