१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘आमाको वियोग झेल्न कठिन भयो’

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार ०८:५९

लन्डन । बेलायतका राजकुमार ह्यारीले आमाको वियोग झेल्न आफूलाई निकै कठिन भएको बताएका छन् । बेलायती अखबार ‘टेलिग्राफ’ सँग कुरा गर्दै उनले आमाको वियोग झेल्न दुई दशक लागेको खुलासा पनि गरे । उनले आमाको वियोगको तनावबाट मुक्त हुनका लागि आफू चिकित्सकको समेत सहयोग लिएको बताए ।
‘१२ वर्षको उमेरमा आमा गुमाउनु र त्यसको २० वर्षसम्म आफ्ना सबै भावनालाई दबाएर राख्नु पर्दा मेरो नीजि जीवनको साथै काममा पनि धेरै असर गर्‍यो,’ उनले भनेका छन् । धेरै पटक आफू हतास भएको पनि उनले खुलासा गरेका छन् । आफ्ना दाजुले समेत मातृ वियोगबाट बाहिर निस्कन आफूलाई मद्दत गरेको उनले बताए । ह्यारीकी आमा प्रिन्सेज डायनाको निधन सन् १९९७ मा एक दुर्घटनामा भएको थियो ।
आफूभित्रको आक्रोस व्यक्त गर्नका लागि बक्सिङले पनि ठूलो मद्दत गरेको उनको भनाइ छ । ह्यारीले मानसिक स्वास्थ्यसँग जुधिरहेका मानिसलाई खुलेर कुरा गर्न प्रोत्साहन गर्ने उद्देश्यले आफ्नी आमाको वियोगबारे अखबारसँग चर्चा गरेको बताइन्छ । (एजेन्सी)