१३ बैशाख २०८१, बिहीबार
Follow Us

आसै आसमा जङ्गलको बास

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७३, शनिबार ०५:१०

भीमदत्तनगर । विसं २०६५ मा दोदा नदीमा आएको बाढीले घरखेत बगाएपछि २० वर्षीया सुशीला चौधरीले परिवार गाउँ नजिकैको सोभाताल बाढीपीडित बस्तीमा सरिन । कञ्चनपुरको दोदा नदीले शङ्करपुर गाविस–७ डुङ्गामा रहेको डेढ बिगाहा खेत नदीले बगाएपछि कष्टकर दिन सुरु भएका सुशीलाको जीवनमा कुनै परिर्वतन आएको छैन ।
“दुई वर्षअघि कक्षा १० मा आर्थिक अवस्थाले कमजोर पढाइलाई विश्राम दिए ।” सोभाताल शिविरमा रहनु भएकी सुशीलाले भनिन्– “बुबाआमा गाउँमा मजदूरी गरेर परिवारको खर्च चलाइरहनुभएको छ ।”
“पीडादायी बस्ती न कुनै सुविधा कसरी स्कुल जानु ? उनले दुखेसो पोखिन्–“सरकारले अझैसम्म हाम्रो स्थायी बासको कुनै पहल गरेको छैन ।” सुशीला त उक्त बाढीपीडित बस्तीकी एक पात्र मात्रै हुन् । त्यहाँका सयौँ बालबालिकाको अवस्था निकै नाजुक छ ।
“बस्ती खाली गराउन पटकपटक सामुदायिक वनले सूचना जारी गरिसक्यो ।” रानीवन साुमदयिक वनमा आश्रय लिइरहेका बन्धु चौधरीले भने–“आश्वासन मात्र पाइयो, बसोबासको कुनै अत्तोपत्तो भएन ।”
एक बिगाहा खेत दोदा नदीले कटान गरेपछि शिविरमा आश्रय लिइरहेका बन्धु चौधरी पनि गाउँमा साहुजनको खेत कमाएर परिवारको लालनपालनमा जुटेको सुनाउँछन् । “चुनावका बेला नेताले पुनःस्थापनाका लागि धेरै आश बाँडे ।” उनले भने– “स्थानीय प्रशासनले पनि बाढीका बेला तत्कालको राहत दिए पनि अरु केही वास्ता गरेन ।”
करिब ३० परिवार आश्रय लिइरहेको साुमदायिक वनमा रहेको अरु धेरै बाढीपीडितले अन्यत्र पलायन भइसकेका छन् । “धेरैले एक आधा कट्ठा जग्गा किनेर टहरा बनाएर बसिसके, धेरै आफन्तको शरणमा छन् ।” चौधरीले भने– “केही नभएका हामी जङ्गलमै त्रासदीपूर्ण वातावरणमा बाँचिरहेका छौँ ।” “अहिले मेरो खेतमा नदीले बगर बनाएको छ ।” चौधरीले विगत सम्झदै दःुख पोखे– “सरकारले समयमै तटबन्ध बनाइदिएको भए हाम्रो वडा नै सखाप हुने थिएन ।”
बाढीले शङ्करपुर गाविस–७ मा मात्रै ९० बिगाहाभन्दा बढी खेत बढाएको पीडितको भनाइ छ । पीडितले तत्काल पुनःस्थापना गर्न माग गरेका छन् । “हाम्रो धेरै ठूलो मागभन्दा पनि एकएक कट्ठा जग्गा दिएर पनि बसोबासको व्यवस्था मिलाइदिनु प¥यो ।” लक्ष्मी चौधरीले भने– “पीडित बस्तीको जनशक्तिलाई स्वदेशमै रोजगारीका लागि पनि सरकारले पहल गरिदिनु प¥यो ।”
जनताको तटबन्ध कार्यालयले दोदा नदीमा तटबन्ध निर्माणका लागि ठेक्का समेत दिइसकेको छ । अघिल्लो वर्ष ठेकेदारले तटबन्धका लागि ढुङ्गा नपाएपछि तटबन्ध निर्माणमा काम रोकिएको थियो ।