१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन यूरोप बैठकको तयारी अन्तिम चरणमा

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७३, शनिबार ०५:१६

लन्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय बैठकको तयारी अन्तिम चरण पुगेको छ । यूरोपका नेपालीको अभियान, लगानी, पुनर्निर्माण र पर्यटन नाराका साथ ३० जुलाईबाट सुरु हुँदैछ । सम्मेलनका लागि यूरोपस्थित गैरआवासीय नेपालीहरुले दर्ता प्रकृया सुरु गरिसकेको एनआरएन यूरोप पूर्व सहसंयोजक सोम सापकोटाले जनाए । कोपनहेगनस्थित हिल्टन होटलमा आयोजना हुने सम्मेलनमा भाग लिन चाहनेहरुको लागि दर्ता शुल्क १ सय यूरो तोकिएको छ । बैठकमा सहभागीहरुको लञ्च र डिनरका लागि सो शुल्क लिइएको सापकोटाले बताए । सापकोटाले बैठकमा सहभागी हुने आउने प्रतिनिधिलाई समयमै होटल बुकिङको लागि आग्रह गरेका छन् । उनले नेपाल ब्रिटेन डट कमलाई भने, ‘यो होलिडे समय हो, होटल पाउन मुस्किल छ, पछि बुकिङ गर्दा महँगो पनि पर्न सक्छ । त्यसैले सबैलाई छिट्टोभन्दा छिटो होटलको रुम सुरक्षित गर्न आग्रह गर्दछु ।’
बैठकमा गैरआवासीय नेपाली संघका, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक नेताहरु रामप्रताप थापा, चिरन्जीवी ढकाललगायत यूरोपस्थित २७ देशको राष्ट्रिय समितिका पदाधिकारीहरुको सहभागित रहने छ । २९ तारिख शुक्रवार पुग्ने प्रतिनिधिले भने त्यहाँ नेपाली जनसम्पर्क समितिले आयोजना गरेको फुटबल प्रतियोगितामा समेत सहभागी हुन पाउने भएका छन् । यस्तै सोही दिन साँझ नेपाली दूतावास डेनमार्कले बैठकमा सहभागीहरुको सम्मानका लागि रिसेप्सनको आयोजना गरेको छ । संघको औपचारिक बैठकको उद्घान शनिवार बिहान गरिने कार्यक्रम तय गरिएको छ । गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्यका अनुसार उद्घाटन सत्रपछि विभिन्न देशका राष्ट्रिय समितिहरुले आ–आफ्नो प्रगति प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । शनिवार साँझ भने यूरोपस्थित विभिन्न देशको प्रतिनिधित्व गर्दै आउने कलाकारले विशेष साँस्कृति कार्यक्रमको प्रस्तुति दिने भएका छन् ।
यस्तै आइतवार विहानदेखि गैरआवासीय नेपाली संघका विभिन्न मुद्दामा समूहगत छलफल गरिने जानाकारी आचार्यले दिए । नेपालमा पुनर्निर्माण, पर्यटन, लगानीका मुख्य मुद्दामा केन्द्रीत रहेर छलफल गरिने सो सत्रमा करिब १ दर्जन गैरआवासीय नेपाली संघका मुद्दामा छलफल गर्ने तयारी गरिएको छ । आइतबारको दोश्रो सत्रमा एनआरएन यूरोप महिला सम्मलेन सुरु हुनेछ । बैठककै अवसर पारेर गतबर्ष नेपालमा गएको भूकम्पपछि सहयोग गर्ने विभिन्न राष्ट्रिय समितिलाई विशेष सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
२ दिने बैठकमा उठेका विभिन्न विषय वस्तुलाई समेटेर आइतवार साँझ कोपनहेगन— घोषणपत्र २०१६ जारी गर्दै एनआरएन यूरोप बैठक समापन हुने संयोजक आचार्यले जानकारी दिए ।